काठमाडौं/ अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सहायता अभिवृद्धि, सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बहिर्गमन, दुईपक्षीय सम्बन्ध विस्तारलगायत विषयलाई केन्द्रमा राखेर उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । उनले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्ने भएका हुन् ।
दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले गएराति अमेरिका पुगेका हुन् । उनलाई वासिङटन डिसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीले स्वागत गरे ।
भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी समकक्षी बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष बंगासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
‘छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग कुराकानी हुनेछ,’ सचिवायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।