काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले देशभर वर्षौँदेखि अलपत्र रहेका रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।
निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेका ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण कार्य अघि बढाइने उनले बताएका हुन्।
मन्त्री लम्सालले सोमबार पूर्वाधार विकास मन्त्रालयमातहतका कार्यालयहरूको ठेक्का प्रगतिको अवस्थाबारे छलफल गरी अलपत्र ठेक्का अन्त्य गर्नेलगायतका विषयमा आवश्यक निर्णय गरिएको जानकारी दिएका छन्।
उनका अनुसार स्रोत सुनिश्चित भएका तथा सालबसाली रूपमा व्यवस्थापन हुने ठेक्काहरूको यथाशीघ्र बोलपत्र आह्वान गर्न ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ। त्यसैगरी, डिजाइन एन्ड बिल्ड खरिद प्रक्रियाबाट निर्माण गरिने पुलका ठेक्कामा निर्माण व्यवसायीले बोलपत्र नै पेस गर्न नचाहने प्रवृत्ति देखिएकाले त्यसलाई सम्बोधन गर्न विद्यमान मापदण्ड संशोधनको प्रक्रिया अघि बढाइनेछ।
सडक विभागअन्तर्गत रहेका रुग्ण ठेक्कामा निर्माण व्यवसायीले खरिद सम्झौता र प्रचलित कानुनअनुसार काम नगरेको अवस्थामा तत्काल ठेक्का अन्त्यको प्रक्रिया अघि बढाइने मन्त्री लम्सालले बताएका छन्। सडक विभागले रुग्ण ठेक्काको नियमित अनुगमन गरी अद्यावधिक विवरणसमेत तयार गर्नुपर्ने निर्णय भएको छ।
त्यसैगरी, ठेक्का तोडिएका आयोजनाको पुनः खरिद गर्नुपर्ने भए नियमानुसार लागत अनुमान तयार गरी आवश्यक बजेट सुनिश्चित भएपछि तत्काल बोलपत्र आह्वान गर्न सकिने गरी तयारी अवस्थामा राखिनेछ।
सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ को व्यवस्थाअनुसार कालोपत्रे सडकको विकल्पमा रिगिड पेभमेन्ट (Rigid Pavement) निर्माणलाई प्राथमिकता दिने भएको छ। यसका लागि सडक विभागले आवश्यक डिजाइन परिमार्जनलगायतका व्यवस्था मिलाउने निर्णय गरिएको छ।
त्यस्तै, विपतका कारण क्षति भएका सडक तथा पुलहरूको पुनर्निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न आवश्यक तयारी गर्ने निर्णयसमेत भएको मन्त्री लम्सालले जानकारी दिएका छन्।
देशभरबाट विभिन्न क्षेत्रमा वर्षौँदेखि अलपत्र रहेका रुग्ण ठेक्काको विवरण र गुनासो प्राप्त भएको उल्लेख गर्दै उनले त्यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय गरिएको बताएका छन्।
‘तपाईंहरूको चासोमा सचेत छौँ, सेवामा प्रतिबद्ध छौँ,’ मन्त्री लम्सालले भनेका छन्।