बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ हुँदै

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

बुटवल/ तिहार पर्वको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’को तयारी गरेको छ। यहि २० कात्तिकदेखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका–८, सुक्खानगरस्थित शुक्रपथमा सडक खाना महोत्सवको तयारी गरिएको संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी दिए।

संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकले दीपावली सडक खाना महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा संघका अध्यक्ष पौडेललाई जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै, निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकालले जानकारी दिए। त्यसैगरी, महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टीकाराम बञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दीपक चापागाईंलाई स्टल तथा पूर्वाधार व्यवस्थापन र सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।

कार्यसमिति सदस्यहरू रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ व्यवस्थापन तथा लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ।

अपराह्न ४ देखि राति १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ। महोत्सवमा स्थानीय, विभिन्न जातजातीका संस्कृतिसँग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ। यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवर्द्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्ने गरी देउसी भैलो प्रतियोगिता, लोकल ब्यान्ड तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
 

सुझावित समाचार