अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कृत

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण
अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कृत

महेश उदास

अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा सम्बन्ध बनाई १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मातातीर्थ क्षेत्रबाट आइतबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो । अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । ‘नाबालिका हराएको सूचनापछि प्रहरी खोजीमा थियो । यही क्रममा बालिका मातातीर्थ एरियामा फेला परिन् । घटना अनुसन्धान गर्दा उनलाई महेशले पाल्पाबाट ल्याएको रहेछ । यसक्रममा उनले बलात्कार गरेको देखिन्छ । आरोपी पक्राउ परेका छन् । थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन् । उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो । महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाए । त्यसपछि दुईबीच मेसेन्जर, भाइबर, ह्वाट्सएपमा च्याट तथा भिडियो कल हुन थाल्यो । करिब वर्षदिनको नियमित कुराकानीपछि महेशले बालिकालाई विवाहको प्रलोभन देखाएको प्रहरीले जनाएको छ । अनेक दबाबपछि बालिकाले महेशको प्रस्ताव स्वीकार गरिन् । महेश बालिकालाई लिन मोटरसाइकलमा पाल्पा पुगे र सुटुक्क लिएर काठमाडौं आए । 

अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने, ‘बालिकालाई उसले म्यासेन्जर, फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरी अनेक प्रलोभन दिएको देखिन्छ । यही क्रममा विवाह गर्छु भनेर बालिकालाई लिन पाल्पा गएछ । काठमाडौं ल्याएर बलात्कार गरेको अनुसन्धानबाट देखिन्छ ।’ बालिका घरबाट एकाएक बेपत्ता भएपछि अभिभावकले पाल्पास्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बालिका काठमाडौंमा भएको सूचनापछि जिप्रका पाल्पाले खोजी गर्न काठमाडौं परिसरलाई अनुरोध गरेको थियो ।

सुझावित समाचार