श्वासबाट कोभिड परीक्षण विधिलाई अमेरिकाले दियो अनुमति

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण

प्रत्येक मेसिनले एक घन्टामा लगभग २० वटा नमुना मात्र प्रशोधन गर्न सक्ने

क्लिनिकल परीक्षणमा रहेको श्वासबाट कोभिड परीक्षण गर्ने विधिलाई अमेरिकी फुड तथा ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले प्रयोगका लागि अनुमति दिएको छ । मेसिनका माध्यमबाट तीन मिनेटको अन्तरालमा परीक्षणको नतिजा निकाल्न सक्ने विधिलाई अमेरिकामा बिहीबार नै प्रयोगका लागि स्वीकृति दिइएको हो ।

‘इन्स्पेक्ट आइआर कोभिड १९ बे्रथलाइजर’ नाम दिइएको यो मेसिन श्वासबाट परीक्षण गर्न मिल्ने सम्भवतः पहिलो मेसिन रहेको बताइएको छ । कोभिड महामारीको लगभग तीन वर्षको अवधिमा संक्रमणको परीक्षण नाक र घाँटीको स्वाबको पिसिआर परीक्षण गरिँदै आइएको छ । श्वासबाट परीक्षण गर्न सकिने विधि लामो खोजको अर्थपूर्ण उपलब्धि रहेको विज्ञहरूले बताएका छन् । 

कोभिड परीक्षणको नयाँ विधिको विकाससँगै संक्रामक रोगको परीक्षण र उपचारमा ठूलो उपलब्धि भएको क्यालिफोर्निया विश्वविद्यालयकी इन्टरडिसिप्लिनरी रिसर्चकी उपकुलपति डा. किस्टिना डेभिसले बताएकी छन् । ‘मलाई लाग्छ कि यो श्वाससम्बन्धी रोग र यसको उपयुक्त विश्लेषणको सम्पूर्ण क्षेत्रका लागि साँच्चै रोमाञ्चक विकास हो । यसले महामारी नियन्त्रणमा अर्को सफलता थप्नेछ,’ उनले भनेकी छन् । डा. डेभिस कोभिड परीक्षणमा वर्र्षौंदेखि अनुसन्धान गरिरहेकी छन् । 

तर, हालै अनुसन्धान सकिएकाले तत्काल परीक्षणका लागि चुनौतीपूर्ण रहेको वैज्ञानिकहरूले बताएका छन् । मेसिनको आकार ठूलो भएकाले निश्चित स्थानमा मात्र राख्न सकिने र प्रयोगका लागि समेत प्रशिक्षित अपरेटरको आवश्यकता पर्ने बताइएको छ । योसँगै धेरै यन्त्रहरू स्क्रिनिङका लागि आवश्यक हुने र प्रत्येक मेसिनले एक घन्टामा लगभग २० नमुना मात्र प्रशोधन गर्न सक्ने इन्स्पेक्टआइआर सिस्टम्सले जनाएको छ । यद्यपि, सहज पहुँचमा ल्याउन सकेमा यसको प्रयोग अस्पतालहरूमा गर्न सकिने भएकाले छोटो समयमा धेरैजनालाई सेवा दिन सकिने विज्ञहरूले बताएका छन् ।

उत्पादक कम्पनीले भने परीक्षण मेसिनको शुल्क अति उच्च रहेको जनाएको छ । तर, परीक्षणका मेसिनहरू बजारमा आउन १० देखि १२ साता लाग्न सक्ने इन्स्पेक्टआइआर प्रणालीका सहसंस्थापक जोन रेडमन्डको भनाइ छ । एफडिएका अनुसार कम्पनीले सातामा करिब एक सयवटा उपकरण उत्पादन गर्ने योजना बनाएको छ, तर उत्पादन कहिले त्यो स्तरमा पुग्छ भन्ने स्पष्ट भइसकेको छैन ।

तत्काल प्रयोगका लागि महँगो पर्ने भन्दै इन्स्पेक्टआइआरले मेसिन स्वास्थ्य सेवा प्रदायक र मोबाइल वा पप–अप परीक्षण साइटहरू चलाउने कम्पनीहरूलाई भाडामा दिन विश्लेषकहरूले आग्रह गरेका छन् । श्वासबाट तीन मिनेटको अन्तरालमै परीक्षणको नतिजा निकाल्न सकिने भएकाले एयरपोर्टहरूमा यात्रु वा कार्यालय भवनमा कामदारहरूको परीक्षण गर्न प्रयोग गर्न निकै सहयोगी हुने बताइएको छ । हालसम्मका अध्ययन परीक्षणले ९१ प्रतिशत पोजिटिभको नतिजा र संक्रमणको नतिजा शतप्रतिशत दिन सकेको कम्पनीले दाबी गरेको छ । पिसिआर परीक्षणबाट संक्रमण पत्ता लगाउन समय लाग्ने भएकाले उपचारको सहज पहुँचका लागि श्वासबाट परीक्षण गर्न विधि निकै सहयोगी हुने बताइएको छ । 

See More On

सुझावित समाचार