गत फागुन २७–२९ मा आयोजित कर्नाली उत्सवको तेस्रो संस्करणमा विविध विषयमाथि सार्वजनिक रूपमा चिन्तन, मन्थन र गन्थन गरियो । यो वैचारिक महाभेलाले थेत्तरो राज्यसंरचना र अटेरी जनप्रतिनिधिलाई वर्षैपिच्छे प्रश्नको वर्षा गर्छ, औँला ठड्याउँछ र भावी कार्यदिशासमेत देखाउँछ । रोग, भोक, विपन्नता र गरिबीको मानक बनाइएको कर्नालीमा सम्भावना र समृद्धिको प्रशस्त अवसर छ भन्ने सन्देश दिनु यसको मुख्य उद्देश्य हो ।
कतिलाई अनावश्यक जार्गन शब्दावली लागे पनि कर्नालीका सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक र भौगोलिक असमानताले पारिस्थितिक अंशहरू नै बहसको केन्द्रीय विषय बनाइएका छन् । दोस्रो दिनको पहिलो सत्रको विषय नै आरन, अन्वेषण र आविष्कार राखिएबाट विकास बहसलाई आकलन गर्न सकिन्छ । यस विषयमा महावीर पुनले वैज्ञानिक शिल्पकौशल, प्रविधि, आविष्कारक कामी समुदायलाई उपेक्षाकै कारण देशको प्रगति नभएको बताए ।
पंक्तिकारले वैज्ञानिकको पहिलो कार्यशाला नै आरन भएकाले यसलाई सम्मानित गरिनुपर्ने, कामी र आरनलाई उपेक्षा गर्न नहुने बतायो । आरन शब्द अंग्रजीको ‘आइरन’बाट बन्यो वा आरनबाट आइरन बन्यो ? खोजको विषय छ । खानीबाट फलाम निकालेर प्रशोधन गरी कडा र नरम फलाम बनाउने काम कामीहरूले नै गर्थे । भौतिक शास्त्रमा अहिलेसम्मको आधुनिक र जटिल विषय भनेको ‘क्वान्टम फिजिक्स’लाई मानिएको छ । प्रकृतिका रहस्यमय विषयहरूको सन्तोषजनक समाधान ‘क्वान्टम फिजिक्स’बाटै हुँदै आएको छ ।
अर्का वक्ता कविता पाण्डेले यस्ता समुदायका लागि नास्टले सातै प्रदेशमा नास्टको शाखा विस्तार र जडीबुटीको समेत खोज, अनुसन्धान गर्ने बताइन् । मानव शरीर मन्त्र, तन्त्र र यन्त्रमा आधारित छ । यो विश्व चराचर जगत् मन्त्र, तन्त्र र यन्त्रद्वारा सञ्चालित छ । तीन डलर बोकेर बिजनेसमा छिरेका एड्रयु कारनेगी विश्वकै धनाढ्य बन्न सफल भए । फलामलाई आरनमा गालेर कामीले विभिन्न सामग्री बनाउँछन् । ती जहाँका त्यहीँ छन् । त्यसको अर्थ राज्यको ध्यान छैन, लक्ष्य छैन, ठोस योजना छैन । अघि टक्सारमा कामीले चाँदी, तामाको टक बनाउँथे । राष्ट्र निर्माणको अभियानमा युद्धको मोहोडामै आरन थापेर विभिन्न हातहतियार निर्माण र उजिल्याउने काम कामीकै थियो । नेपाल एकीकरण होस् वा माओवादी युद्धमा समेत कामीको आरनले विशिष्ट भूमिका खेलेको विदितै छ । पानी वा तेलविना स्वचालित मोटरका आविष्कारक लालबहादुर विश्वकर्मा यहाँ स्मरणीय छन्, जो राजा महेन्द्रबाट पुरष्कृत भएका थिए । त्यसैगरी कर्नालीकै गुमनाम आरनका दलवीरसिंह कामी अहिले सबैका नजरबाट लुप्त भएका छन् । जसले आफ्नो आरनमा कठिन साधना, मिहिनेत र परिश्रमबाट कर्नालीका विभिन्न खोला, नदीमा दर्जनौँ पुल बनाए । गाउँले जनजीवनको यातायातको अप्ठ्यारालाई सहज बनाइदिए ।
सुर्खेत विमानस्थल निर्माणमा आफ्नो ज्ञान, बुद्धिको प्रयोग गरे । सेनाको बिग्रिएर बसेको हेलिकोप्टर मर्मत गरेर उडाए, अमेरिकी पिसकोरका कर्मचारीको कम्प्युटर र क्याल्कुलेटर मर्मत गरी प्रयोगमा ल्याइदिए । साधारण लेखपढ मात्रै जानेका तर पुख्र्यौली ज्ञान परम्पराबाट विज्ञ दलवीरले कोहलपुर–सुर्खेत सडकसमेत रेखांकन गर्नु चानचुने विषय थिएन । आज उनको परिवार र परिवारका सदस्य कहाँ र कुन अवस्थामा छन् ? कसैलाई थाहा छैन ।
आरन मानव सभ्यताको पहिलो आधार हो । यसले कृषि औजार, फाली, कुटो, कोदालो बनाएर कृषि सभ्यताको थालनी गर्यो । बाजागाजा र संगीतको निर्माणबाट सांस्कृतिक सभ्यताको आधार बन्यो । मानव गरगहना र शृंगारका सामग्रीले पहिचानको आधार दियो । घरायसी भाँडाकुँडा, सरसामग्री बनाएर मानवीय दैनिकीलाई सहज बनायो । हातहतियार निर्माणबाट आफ्नो सुरक्षा र शत्रुलाई परास्त गर्न सहयोग पुग्यो । यसरी जताबाट हेरे पनि मानव जीवनयापनका, संस्कृति निर्माण–विकास र सभ्यताको जग नै आरन हो ।
आजको आधुनिक वैज्ञानिक कार्यशालाको पूर्वरूप नै आरन थियो । महावीर पुन भन्छन्, ‘आज शक्तिशाली देशको रूपमा अगाडि आएका मुलुकले विगतमा प्रशस्त अन्वेषण र आविष्कारमा लगानी गरेका थिए । उनीहरूले आफ्नो देशको कुल ग्रार्हस्थ उत्पादनको चारदेखि सात प्रतिशतसम्म आविष्कारमा लगानी गरेको पाइन्छ । मैले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेयता विकास बजेटको एक प्रतिशत अन्वेषण र आविष्कारमा छुट्याउनु भन्दै आएको छु । स्कुलको मुख नदेखेका जोन डी राकफेलर विश्वकै धनी बने । त्यसको कारक तर्व थियो, सीपको पहिचान, कार्यगत एकता र राज्यको लगानी । तर, हाम्रो देशमा सुनारसँगको सीपको पहिचान खोइ ? आरनलाई आधुनिकतासँग परिमार्जन गरेको खोइ ? विश्वका विभिन्न शैक्षिक संस्थामा पढेका, विद्यावारिधि गरेका अर्थशास्त्रीले नबुझ्ने भन्ने हुन्छ र ? उनीहरूले बुझेर पनि बुझ पचाइरहेका छन् । अध्ययन, अनुसन्धान र आविष्कारबाट प्राप्त ज्ञानले वस्तु उत्पादन र व्यापार गरिनुपर्छ । मानवीय प्रयोजनका वस्तुको व्यापारविना देशको अर्थतन्त्र बलियो हुँदैन । तर, राज्य सञ्चालनमा बसेकाहरूले यस्तो कुरा किन बुझ्दैनन् ? म अचम्मित भएको छु ।’
शिल्पी समुदायको मौलिक, पुख्र्यौली ज्ञानबाट उत्पादन गर्न सकिने वस्तुहरू १२१ प्रकारका छन् । त्यो भनेको आरन, अन्वेषण र आविष्कार हो । जहाँ सीप र विज्ञान छ, समाज रूपान्तरण गर्ने तागत छ । पुर्खाको ज्ञान तथा हालको विज्ञानको सम्मिश्रण गर्ने ऊर्जा छ ।
त्यसो त संयुक्त राष्ट्रसंघको विकासे परियोजनाले विकासको मानक वा आधारलाई १७ वटा लक्ष्यमा चित्रित गरेको छ । जसमा गरिबी निवारण, भोकमरी उन्मूलन, स्वस्थ जीवन, सबै र सधैँका लागि शिक्षा, लैंगिक समानता र महिला सशक्तीकरण, सहज खानेपानीको उपलब्धता, आधुनिक इन्धनमा सहज पहुँच, मर्यादित रोजगारीको उपलब्धता, ‘रेजिलिएन्ट’ पूर्वाधार र समावेशी औद्योगिकीकरण, असमानताको अन्त्य, आधुनिक सहरीकरण, खाद्य उत्पादन र उपभोग दिगो बनाउने, जलवायु परिवर्तनको असर न्यूनीकरण, जलचरको रक्षा, थलचरमा भएका स्रोतको दिगोपना, शान्तिपूर्ण समाजको निर्माण र विश्वव्यापी सहकार्यका लागि विकासमा जागृत गराउने भन्ने छ । कुनै वेला गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने । त्यसमा राज्यको साथ रह्यो । दीर्घकालीन योजना बन्यो । अनि रेटे संगीतको धुन, गला तिखारे । नेपालमा अक्कलविनाको नक्कल मात्र गरिने चलन छ । राजनीति र विकासमा आफ्नै शैलीको विकास गर्ने चलन छैन । राम्रो पक्षलाई आत्मसात् गरेको पाँइदैन । अनि आरनको उँभो गति कसरी हुन्छ ?
शिल्पकला तथा विकासविद् डा. गोविन्द नेपालीका अनुसार शिल्पी समुदायको मौलिक, पुख्र्यौली ज्ञानबाट उत्पादन गर्न सकिने वस्तुहरू १२१ प्रकारका छन् । त्यो भनेको आरन, अन्वेषण र आविष्कार हो । जहाँ सीप र विज्ञान छ । समाज रूपान्तरण गर्ने तागत छ । पुर्खाको ज्ञान हालको विज्ञानको सम्मिश्रण गर्ने ऊर्जा छ ।
कर्नालीको कुल जनसंख्याको २९.२ प्रतिशत शिल्पी समुदायको जनसंख्यालाई राज्य वा प्रदेशबाट मूल प्रवाहमा किन समावेश गरिएन ? कर्नालीमै पंक्तिकारको अध्ययनको निष्कर्ष के छ भने शिल्पी समुदाय नेपालको संस्कृति, सम्पदा र सभ्यताको जननी हो । सन् ६० को दशकमा राष्ट्रिय उद्योग प्रवद्र्धनको नीतिगत व्यवस्थाले शिल्पी समुदायको मौलिक परम्परागत पेसा, व्यवसायमा नराम्रो असर पर्यो ।
यदि शिल्पी (कथित दलित) समुदायलाई विकासको मूलधारमा ल्याउने हो भने अहिलेको व्यापार घाटालाई ४० प्रतिशतभन्दा बढी कम गर्न सकिन्छ । उनीहरूको पुख्र्यौली ज्ञान परम्परमा आधारित शिल्पकला, प्रविधि र संस्कृतिमाथि लगानी गर्नु जरुरी छ । शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताको जग नै शिल्पी समुदाय हुन् । नेपालको विश्व बजार प्रवेशसँगै उनीहरू परम्परागत सीप, कला र प्रविधिबाट विस्थापित भए । उनीहरूसँग पुँजी, प्रविधि र पहुँच भएन । जोसँग पुँजी, प्रविधि र पहुँच थियो, उनीहरूकै ज्यालादारी मजदुरी गर्न विवश भए । यसर्थ, अब उनीहरूलाई आफ्नो शिल्पकलाको मालिक बनाउन राज्यले केही विशेष व्यवस्था गर्न जरुरी छ । पहिलो विशेष नीतिको माध्यमबाट अगाडि ल्याउन सकिन्छ । देशभर आधारभूत सर्वेक्षण गरिनुपर्छ । यसले उनीहरूको सीप, कला, संस्कृति र जनसंख्यासमेत यकिन तथ्यांकबाहिर ल्याउँछ ।
यसकै आधारमा कार्यक्रम लागू गर्न सहज हुन्छ । संघ, प्रदेश र स्थानीय सरकारमा क्रमशः रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय, रैथाने शिल्पकला तथा संस्कृति महाविद्यालय र रैथाने शिल्पकला तथा संस्कृति विद्यालय (आवासीय) स्थापना गरिनुपर्छ । सरकारी प्रज्ञा–प्रतिष्ठानहरूले यस समुदायको कलासंस्कृति, भाषा, साहित्य र इतिहासलाई नचिनेकाले अमूर्त सांस्कृतिक प्रज्ञा–प्रतिष्ठान स्थापना गरिनुपर्छ । यसले उनीहरूको विविध विषयमा खोज, अनुसन्धान र नवप्रवर्तनका काम अगाडि बढाउनुपर्छ । दोस्रो कार्यशाला, उत्पादन र व्यापारलाई प्रवद्र्धन गरिनुपर्छ । उल्लिखित तीनै तहका शैक्षिक संस्थामा सामुदायिक सीपकलामा आधारित पाठ्यक्रम बनाई लागू गरिनुपर्छ । यसले सैद्धान्तिक, प्रयोगात्मक, उत्पादन र व्यापारसमेत गर्छ । सहकारीको माध्यमबाट शैक्षिक संस्था र गाउँ–गाउँबाट उत्पादित सामग्री ठाउँ–ठाउँमा संकलन केन्द्रमा जम्मा गरिनुपर्छ । त्यसलाई विभिन्न व्यापारिक केन्द्रमा बिक्री–वितरण गर्ने व्यवस्था तीनै तहका सरकारले संयोजन गरिदिनुपर्छ । यसबाट प्राप्त हुने रकम सहकारी प्रणालीमार्फत परिचालन गर्ने व्यवस्थाबाट सरकारले एकपटक लगानी गरिदिए पुग्छ ।
तेस्रो, पर्यटन प्रवद्र्धनका माध्यमबाट जीवनस्तर माथि उठाउन सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटकलक्षित कोसेली घर विभिन्न सहर, बजारमा स्थापना गरिनुपर्छ । कला संस्कृति र संगीतका आधारशिला शिल्पी समुदायकोमा घरवास कार्यक्रम लागू गर्न सकिएमा मनग्य आयआर्जन गर्न सकिन्छ । चौथो सहभागिता र प्रोत्साहनको माध्यमबाट शिल्पकलालाई उठाउन सकिन्छ । यो समुदायको आत्मसम्मान सामाजिक विभेद र असमानताले गिरेको छ । तसर्थ, उनीहरूलाई राज्यका हरेक निकायमा अनिवार्य सहभागिता गराइनुपर्छ । सहभागिताले आत्मसम्मान बढाउँछ, नीति–निर्माण र कार्यान्वयनमा बल पुग्छ । उनीहरूले विगतमा समाजलाई दिएको योगदानको वर्तमानमा पनि सम्मान र प्रोत्साहन गरिनुपर्छ । जसले गर्दा पछिल्लो पुस्तासमेत सकारात्मक हुन सक्छन् । देशभरका विविध विषय र ज्ञानका बुढापाकालाई खोजी–खोजी राज्यले सम्मान र कदर गरिनुपर्छ । उदाहरणका लागि वैज्ञानिक लालबहादुर विश्वकर्मा र दलवीरसिंह कामीहरूको खोजी हुनुपर्छ । उनीहरूको सामाजिक योगदानलाई स्मरण गरिनुपर्छ । पाँचौँ, पेसा पलायनमा रोक र रोजगारी सिर्जना गरिनुपर्छ । राज्यको बेवास्ता, पुँजी, पहुँच, प्रविधि र संरक्षणको नीतिगत व्यवस्था नहुँदा शिल्पी समुदाय पुख्र्यौली पेसाबाट विस्थापित भएका छन् ।
यसलाई रोक्न, टिकाउन र बिकाउन सरकारी तहबाटै पहल हुनुपर्छ । यसो हुन सकेमा स्वदेशमै रोजगारी सिर्जना भई बिदेसिनुपर्ने थिएन । तर, सरकारबाट सञ्चालित सिटिइभिटीजस्ता संरचनाले भने शिल्पी समुदाय झनै पीडित र विस्थापित हुनुपरेकाले यिनै समुदाय मालिक बन्ने संरचना बनाइनु न्यायसंगत हुन्छ । नेपाल सरकारका निवृत्त सचिव डा. मानबहादुर विश्वकर्माको पछिल्लो खोजअनुसार कथित दलितप्रतिको सामाजिक बहिष्करणले देशको कुल गार्हस्थ उत्पादनमा प्रतिवर्ष कम्तीमा १० प्रतिशतले क्षति पुग्ने गरेको प्रक्षेपण गरिएको छ । नेपालको प्राचीनकाल, मध्यकाल र आधुनिक कालसम्म पनि कामीको आरन, अन्वेषण र आविष्कारको महर्व, आवश्यकता र उपयोगिता दैनिक जीवनमा उत्तिकै खाँचो छ । पछिल्लोपटक ०७२ को संविधानको धारा ४० को उपधारा ४ मा यो समुदायको जीविकोपार्जन तथा सांस्कृतिक अधिकारबारे व्यवस्था गरिएको छ । उनीहरूलाई सीप, स्रोत–साधनसमेत राज्यले उपलब्ध गराउनुपर्ने भनिएको छ । तर, संवैधानिक व्यवस्था भएको ६ वर्ष पार भइसक्दासमेत यससम्बन्धी कानुन बनेको छैन । आधुनिक विज्ञान र वैज्ञानिक खोजमा कामीको आरनको विशेष भूमिका छ । यस्तो महर्वपूर्ण आविष्कारको जननी कामीको आरन नै हो । राज्यले आजसम्म कामी र आरनको शक्तिलाई नचिन्नाले देशको दुर्गति भएको हो ।