विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० राजदूतहरूउपर उजुरी आह्वान गरेको छ।

बैठकले १० दिन समय दिएर उनीहरूमाथि उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘अहिले मन्त्रिपरिषद्ले २० जना राजदूतको सिफारिस गरेको छ। उनीहरूबारे समितिको बैठक बसी उजुरी आह्वान गर्याैँ । १० दिनको टाइम दियौँ। १० दिनभित्र जसलाई उपयुक्त वा अनुपयुक्त के लाग्छ ? त्यसबारे जनताबाट उजुरी मागेका छौँ,’ उनले भने।

गत चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, वासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको थियो। त्यसैगरी, डिल्लीराज पौडेललाई मलेसिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूत सिफारिस गरिएको थियो। घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो।

प्रस्तावित राजदूतहरूको उजुरीमाथि संसदीय समितिले छानबिन गर्नेछ। त्यसपछि उनीहरूको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरूको नाम अनुमोदन गर्नेछ। समितिले अनुमोदन गरेका राजदूतहरूलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ।

सुझावित समाचार