सरकारले उद्यमी, व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभामुख सापकोटा

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरूलाई सधैँ प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि राज्य व्यवसायबाट मात्र उन्नति र प्रगतिमा जाने उल्लेख गर्दै राज्यले उनीहरूलाई सधैँ प्रोत्साहित गर्नुपर्ने बताए।

उनले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे। उनले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरेका छन्। निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाइ थियो।

‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन। यो उन्नति र प्रगतिमा मात्रै जान्छ। त्यसकारण व्यवसायी, उद्यमीहरू, चेम्बर अफ कमर्सजस्ता संस्थाहरूलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नुपर्ला। हामी अभिभावकको जिम्मेवारीमा छौँ भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाइमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने बिस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ,’ उनले भने।

सुझावित समाचार