अब ‘एक्स ई’ भेरियन्टको जोखिम

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

बेलायतमा १९ मार्चमा पहिलोपटक पुष्टि भएको कोभिड– १९ को ‘एक्स ई’ भेरियन्ट संक्रमित भारतमा पनि देखिन थालेपछि नेपालमा समेत जोखिम बढेको छ । यसअघि फैलिएको ओमिक्रोनकै नयाँ भेरियन्ट ‘एक्स ई’ शनिबार गुजरातमा एक व्यक्तिमा देखिएको हो । 

गत बिहीबार नै महाराष्ट्रमा दक्षिण अफ्रिका यात्रा गरेर फर्किएकी ५० वर्षीया महिलामा उक्त भेरियन्ट देखिए पनि पुष्टि गरिएको थिएन । महाराष्ट्रमा नयाँ भेरियन्ट फेला परेको भनिएको केही घन्टामै भारतको स्वास्थ्य मन्त्रालयले संक्रमणबारे पूर्ण विवरण उपलब्ध नभएको जानकारी दिएको थियो । उक्त केसमा ‘फास्ट क्यु’मार्फत जिनोमबारे अध्ययन गर्दा नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको मन्त्रालयले शनिबार गुजरातको केसमा भने पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार बेलायतमा मात्र ६ सय व्यक्तिमा ‘एक्स ई’ भेरियन्ट पुष्टि भइसकेको छ । ओमिक्रोन अर्थात् बिए–१ र बिए–२ को तुलनामा १० गुणा बढी संक्रामक मानिएको उक्त भेरियन्टले बेलायतमा पछिल्लो साता देखिएका नयाँ संक्रमितको ८६ प्रतिशत हिस्सा ओगटेको अनुमान गरिएको छ ।

तीव्र फैलिएपछि यसबारे अध्ययन पनि थालिएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको थप अध्ययन र महŒवपूर्ण भिन्नताहरू पहिचान नभएसम्म ओमिक्रोनकै सबभेरियन्टका रूपमा लिइने स्पष्ट पारेको छ । 

बेलायतमा बढ्यो अस्पताल भर्नादर 
एक्स ई भेरियन्ट पुष्टिसँगै बेलायतमा अस्पताल भर्नादर गत महिनाको तुलनामा दोब्बरले बढेको छ । बेलायतमा यो साताको औसत संक्रमणदर ६६ हजारभन्दा बढी देखिएको छ । शुक्रबार मात्रै बेलायतमा ४१ हजार चार सय ६९ जनामा संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन मत्थर भएसँगै सामान्य अवस्थामा फर्किएको बेलायतमा पुनः संक्रमण बढेपछि विद्यालय र सार्वजनिक स्थानमा कडाइ थालिएको छ । तर, संक्रमण तीव्र फैलिनुमा एक्स ई मात्र नभई ओमिक्रोन पनि जिम्मेवार रहेको भाइरोलोजिस्टहरूले बताएका छन् । दक्षिण कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, इटाली, अस्ट्रेलिया र चीनमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । 

नेपालमा संक्रमणदर ०.३१ प्रतिशत 
नेपालमा दैनिक संक्रमण लगभग शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १३ जनामा मात्र संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर ०.३१ प्रतिशतमा झरेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्यासमेत घटेर ६ सय ३७ छ । लक्षित वयस्क उमेर समूहमा कोभिड विरुद्धको पूर्ण खोप ८२.८ प्रतिशत र बालबालितमा ७४ प्रतिशतले लगाइसकेका छन् । 

सुझावित समाचार