बढ्यो लामो दूरीका सवारीको भाडा दर, कहाँको कति ? (सूचीसहित)

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। आइतबार सार्वजनिक नयाँ भाडादरअुनसार १०–१५ प्रतिशतसम्म भाडा बढेको छ।

व्यवसायीहरूबाट भाडा बढाउन दबाब आएपछि सरकारले चैत १७ गते भाडा बढाउने निर्णय गरेको थियो। सोहीअनुसार यातायात व्यवस्था विभागले समायोजन गरिएको अन्तरप्रदेशको नयाँ भाडादर आज आइतबार सार्वजनिक गरेको हो।

नयाँ भाडादर अन्तरप्रदेश (लामो दूरी) भएर गुड्ने सार्वजनिक सवारीसाधनमा लागू हुनेछ। विभागका अनुसार लामो दूरीका यात्रुवाहक सवारीसाधनमा १० प्रतिशत भाडा वृद्धि गरिएको छ। पहाडी क्षेत्रमा गुड्ने मालवाहक सवारीसाधनको भाडादर १३ प्रतिशत, तराईमा गुड्ने मालवाहक सवारीको भाडा १५ प्रतिशतले वृद्धि गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय छलफलपछि भाडादर बढाउने निर्णय भएको थियो।
 
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै व्यवसायीहरूले भाडा बढाउन दबाब दिँदै आइरहेका थिए। पछिल्लोपटक सरकारले दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। तर, सवारीसाधनको नयाँ भाडादर कायम नगरिएको भन्दै व्यवसायीहरू आन्दोलित थिए। 

संघले लामो दूरीका सवारीको भाडादर बढाएपछि अब प्रदेशले छोटो तथा लोकल रुटको भाडादर कायम गर्नेछ। सरकार र यातायात व्यवसायीहरूबीच भएको निर्णयअनुसार पेट्रोलियमको मूल्य घटबढ हुनासाथ यातायातको भाडादर पनि स्वतः घटबढ हुनेछ।

चैत १७ गते यातायात मन्त्रालय, व्यवसायी र यातायात व्यवस्था विभागबीच यही सहमति भएको छ। ‘अब पेट्रोलियम पदार्थको ५ प्रतिशत मूल्य घटबढ हुनासाथ सवारीसाधनको भाडादर पनि त्यति नै प्रतिशतले घटबढ हुनेछ,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘पेट्रोलियम महँगो भएकाले भाडादर पनि बढेको हो।’ उनका अनुसार हरेक वर्ष दसैँअघि तथा वैशाखमा नयाँ भाडादर कायम हुँदै आए पनि अब भने मूल्यवृद्धिका आधारमा हरेक वर्ष चैतमा भाडादर समायोजन गर्ने सहमति भएको छ।
 
नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागले प्राविधिकहरूलाई जिम्मा दिएको थियो। प्राविधिकहरूले पेट्रोलियम तथा सवारीसाधनका पार्टपुर्जाको महँगी पुनरावलोकन गरेर भाडादर कायम गरेका हुन्। नयाँ भाडादर आजदेखि नै लागू हुनेछ।

सुझावित समाचार