पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नुस् : कार्यबाहक प्रधानमन्त्री खाण

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यबाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर उनले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा–नचाहँदै कठोर हुनपर्ने बताएका थिए। व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न खाणले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यबाहक महानिर्देशक गोइतले जानकारी दिए।

‘मन्त्रीज्यूबाट पेट्रोलियम पदार्थ बिक्री–वितरण भए–नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो,’ गोइतले भने, ‘हामीले उहाँको निर्देशनअनुरूप उपत्यकाका २० भन्दा बढी पम्पमा अनुगमन गरेका छौँ। केहीले बेचेको, केहीले नबेचेको पायौँ। भोलि थानकोटको डिपो खुला हुन्छ। त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ।’

साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले जानकारी दिए। डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए। ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिनुभएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्। निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ, भन्यौँ।’
 
व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाउनुपर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाउनुपर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री–वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।

सुझावित समाचार