दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्रा क्रमबद्ध र थप परीक्षणका लागि भण्डारणस्थलमा सारिएको बताए। करिब एक करोड वर्गमिटर वरिपरि खोजीकार्य जारी राखिएको थियो। खोज तथा उद्धार कार्यमा दुई सय १६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको थियो।
कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २:३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। मार्च २१ मा एक सय २३ यात्रु र नौ चालकदलका सदस्यहरूसहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा