३८ वर्षअघि विवाह गरेर मुसिकोट नगरपालिका– ३ पुग्दा देवकला थापालाई गाउँमा पानीको हाहाकार छ भन्ने थाहा थिएन । १९ वर्षको उमेरमा नयाँ जीवन सुरु गर्न नयाँ गाउँ पुगेकी देवकलाले कल्पनै नगरेको अवस्था पाइन् । उनको साँझ बिहान एक गाग्री पानीका लागि बित्न थाल्यो । पँधेरा र खोलामा पानी लिन झिसमिसेमै पुग्दापुग्दै कहिलेकाहीँ जंगली जनावरसँग जम्काभेटसमेत हुन्थ्यो । वर्षहरू बित्दै जाँदा उनले वर्षौँ भोगेको यो दुःखबाट कुनै दिन मुक्ति मिल्ला भन्ने सोच्नै छाडेकी थिइन् । तर, अहिले उनले नसोचेको भइदियो । अहिले ५७ वर्षमा हिँड्दै गरेकी देवकलाले जीवनभर भोगेको दुःखबाट पार पाइन् ।
स्थानीय सरकारको पहलमा पाउखोला पेँगा लिफ्ट खानेपानी तथा सरसफाइ योजना गाउँमै निर्माण भयो । केहि दिनअघि आफ्नै घरको आँगनमा धारा उद्घाटन गर्न पाउँदा थापाको खुसीको सीमा थिएन । प्रदेश र स्थानीय सरकारको लगानीमा साढे दुई करोडको लगानीमा एक सय ५१ घरमा ‘एक घर एक धारा’ सञ्चालन भएको छ । गुल्मीको इस्मा गाउँपालिका– १ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उच्च भूभाग र नजिकै खानेपानीको मूल नभएको कारण उजुङवासीले सदियौँदेखि खानेपानीको चरम संकट भोगे । घन्टौँ हिँडेर पँधेरा र खोला पुग्थे । कैयौँका जीवन पानीको अभाव र पीडामै बिते । पानीका कारण उजुङमा झट्ट छोरी नदिने कथन गर्ने पाका पुस्ता अझै छन् । सोही गाउँमा अहिले ठूलो खानेपानी आयोजना निर्माण भएको छ ।
दुई सय ८४ घरमा ‘एक घर एक धारा’ पुग्ने गरेर करिब चार करोड लागतमा दुन्दुरखोला–हर्पुकोट लिफ्ट खानोपानी आयोजना सम्पन्न भएको छ । सोही गाउँकी ४८ वर्षीया लक्ष्मी कुँवरले काकाकुल जीवन फेरिएकोमा खुसी व्यक्त गरिन् । ‘एक खेप पानी बोक्दा बिहान जान्थ्यो । दिनभर काम गरेर थकित शरीरसँगै साँझ पँधेरा नपुग्नुको विकल्प थिएन,’ उनले हिजोको दुःख सम्झिँदै भनिन्, ‘अहिले घरमै पानी आउँदा जुनी फेरिएको महसुस भएको छ ।’
मुसिकोटमा मात्रै ५० करोड लगानी
मुसिकोट नगरपालिकाले नगरका करिब पाँच हजार घरमा ‘एक घर एक धारा’ योजना सञ्चालन गरेको छ । हिउँदमा उच्च भूभागका मूल छिटो सुक्ने भएकाले वर्षका ६ महिना खानेपानीको हाहाकार नै हुने गथ्र्यो । त्यसैले मुहान संरक्षण र व्यवस्थापन गरेर ग्राभेटी र लिफ्टमार्फत करिब पाँच हजार घरधुरीमा ‘एक घर एक धारा’ सञ्चालन गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
नगरपालिकाका विभिन्न वडामा २९ ग्राभेटी र आठ सोलार तथा विद्युतीय लिफ्ट सिस्टममार्फत खानेपानी सञ्चालन गरिएको छ । नगरपालिका, संघीय खानेपानी कार्यालय, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजना, खानेपानी कार्यालय, ब्रिटिस वेलफेयर र निर्वाचन क्षेत्र विकास कोषको गरेर करिब ५० करोड खर्च खरिएको नगरप्रमुख सापकोटाको भनाइ छ । लिफ्ट सिस्टम सञ्चालन गर्न महँगो पर्ने भएकाले खानेपानी शुल्क पनि बढी छ । विद्युत् नियमित नहुँदा सिस्टम सञ्चालन हुँदैन । बिग्रिएपछि उपकरण परिवर्तन गर्न पनि बढी रकम लाग्ने भएकाले नागरिकले पानीको शुल्क बढी बुझाउनुपरेको स्थानीयको भनाइ छ । ‘पहाडमा लिफ्टको विकल्प छैन । तर, महँगोे र बिग्रने जोखिम बढी हुनेरहेछ,’ मुसिकोट नगरपालिका– ५ का बाबुराम भण्डारीले सुनाए, ‘महँगो प्रविधिका कारण पानीको शुल्क बढी लिने गरिएको छ । यसको व्यवस्थापनमा चुनौती छ ।’
दीर्घकालीन समाधान अझै टाढा
बढ्दै गएको सहरीकरणका कारण तम्घास बजारमा खानेपानी संकट जटिल बन्दै थियो । तम्घासमा केही वर्ष पहिलेसम्म माघबाट खानेपानीको संकट सुरु हुन्थ्यो । रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा ट्यांकरमार्फत खानेपानी वितरण गथ्र्यो । खानेपानी समाधानको माग गर्दै रेसुंगा नगरपालिका– ८ का नागरिकले आन्दोलन पनि गरे । बस्ती विकास र सडकका कारण पुराना मुहान सुक्दै गए । दुई वर्षदेखि नगरपालिकाले डिप बोरिङमार्फत तम्घासको खानेपानी संकट समाधान गरिरहेको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।
अहिलेसम्म तीनवटै सरकारले खानेपानीका लागि नगरभित्र आठ करोड ४५ लाख खर्च गरेका छन् । जसका कारण नगरका आठ हजार तीन सय ५३ घरधुरीमध्ये ९० प्रतिशत घरमा ‘एक घर एक धारा’ सञ्चालन भएको छ । २५ करोड १२ लाख ७१ हजार पाँच सय सात रुपैयाँमा मजेङ बृहत् खानेपानीको काम सुरु भएको छ । जसले नगरवासीका सबै घरधुरीमा शुद्ध खानेपानीको पुहँच पुग्ने रेसुंगा नगरपालिकाका मेयर भुसालले बताए ।
वडा नम्बर ७, ८ र ९ मा डिप बोरिङ गरिएको छ । रेसुंगा नगरपालिका १० र ११ कोे जोरपानी, रेसुंगा नगरपालिका १ र २ का सेतीखोला– पाताललगायतका विभिन्न वडामा लिफ्ट खानेपानी योजना सञ्चालन भएको नगरपालिकाले जनाएको छ । रेसुंगामा तत्काल खानेपानी व्यवस्थापन भए पनि जनसंख्याको हिसाबले पर्याप्त पानी छैन । ‘दीर्घकालीन हिसाबले मभेङ खानेपानी योजना नै रेसुंगा नगरवासीको खानेपानीको समस्या समाधानको उपाय हो,’ रेसुंगा नगरपालिका– ८ का शेरबहादुर थापाले भने, ‘समयमै योजनाको काम नभए फेरि समस्या बल्झिन सक्छ ।’
‘एक घर एक धारा’ प्रमुख चुनावी वाचा
गत तीनै तहको निर्वाचनमा ‘एक घर एक धारा’ जनताको मुख्य माग थियो भने दलहरूको बाचा थियो । त्यसैले सबै स्थानीय तह यो बाचा पूरा गर्न कम्मर कसेर लागेका छन् । तर, भौगोलिक चुनौतीका कारण सबै पालिकामा घरघरमा पानी पुगेको छैन । मालिका गाउँपालिका गठन भएपछि तीन हजार सात सय ७१ घरमा एक घर एक धारा सञ्चालन भएको छ । तीनै तहका सरकारको बजेट सहयोगमा आठ करोड ११ लाख ७३ हजार खर्च गरी धारा सञ्चालन गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए । मालिका गाउँपालिकामा पाँच हजार ४० घरधुरी छन् ।
रुरु क्षेत्र गाउँपालिकाले दुई हजार एक सय ६ घरमा एक घर एक धारा पु¥याएको छ । गाउँपालिकाका सूचना प्रविधि अधिकृत ईश्वरी न्यौपानेका अनुसार यसमा तीन तहको करिब १८ करोड बजेट खर्च भएको छ । गुल्मी दरबार गाउँपालिकाका एक हजार पाँच सय ३३ घरमा धारा पुगेका छन् । थप नौ सय ३६ घरमा धारा पु¥याउन पाँचवटा योजनामा काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । धुर्कोट गाउँपालिकाले तीन हजार दुई सय ६१ घरमा धारा पुर्याएको छ । संघ, प्रदेश, पालिका र उपभोक्ता समिति गरेर १९ करोड ३४ लाख ६४ हजार खर्च भएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए ।