नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका– ४, पिधरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान करिब ७ः५० बजे होङ्सी–दुम्कीबास भित्री सडकखण्डअन्तर्गत पिधरीबाट दुम्कीबासतर्फ आउँदै गरेको लु.४त ५५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार पिधरीस्थित शिव सर्दी पेट्रोल पम्पबाट तेल हालेर दुम्कीबासतर्फ आउँदै गर्दा ट्याक्टरचालक विनयी त्रिवेणी– ४, पिधरीका ५४ वर्षीय ओमबहादुर पल्लीमगरले नियन्त्रण गुमाएका थिए। ट्याक्टर सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किँदा चालक सडकमा खसेर घाइते भएका थिए।
घाइते मगरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा लगिएको थियो। उपचारका क्रममा आइतबार बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।