आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णयले वाम गठबन्धनको सम्भावना टारेको छ
उपसभापति पूर्णबहादुर खड्का कांग्रेसका चुनावी कमान्डर
०७४ को स्थानीय, प्रदेश र संघीय चुनावमा दोस्रो शक्ति बनेको कांग्रेसले आसन्न तीनै तहको निर्वाचनमा पहिलो शक्ति बन्ने रणनीतिक निर्णय लिएको छ । ३० वैशाखमा एकै चरणमा हुन लागेको स्थानीय चुनावमा आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णयले तत्कालका लागि वाम गठबन्धनको सम्भावना टरेको छ । पाँचदलीय सत्तागठबन्धनलाई स्थानीय चुनावमा कायम राख्ने कांग्रेसको निर्णय वाम गठबन्धन रोक्ने ‘मास्टर स्ट्रोक’ बनेको छ । यो निर्णयले प्रमुख प्रतिपक्षी एमाले सबैभन्दा ठूलो दबाबमा परेको छ । एमाले अहिले संसद् र स्थानीय तहमा सबैभन्दा ठूलो शक्ति हो ।
वामपन्थी मत विभाजन गर्ने, माओवादी र एकीकृत समाजवादीसँग सहकार्य गरेर एमालेलाई कमजोर पार्ने तथा ०७४ मा जितेको सिट सुरक्षित गर्दै थप सिटमा कब्जा गरेर पहिलो शक्ति बन्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति छ । उनको यही रणनीति र चाहनाअनुसार पार्टीभित्र इतर समूहको असन्तुष्टिका बाबजुद चुनावमा तालमेल गर्ने संस्थागत निर्णय कांग्रेसले गरेको छ ।
कांग्रेसले जित सुनिश्चित गर्न गठबन्धनको बाटो खुला गरेको स्पष्ट सन्देश दिएको छ । ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ मंगलबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय छ ।
पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए । सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गरेको थियो ।
प्रधानमन्त्री देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका थिए । तर, इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले भने गठबन्धनको विपक्षीमा बोल्दै आएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा देशव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको कांग्रेसको विश्लेषण छ । संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा प्रस्तुत गरेको सफल नेतृत्वलाई कांग्रेसले जितको आधार मानेको छ । देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं आफु नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिकालाई पनि कांग्रेसले चुनाव जित्ने आधार ठानेको छ ।
यसबाहेक नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भूमिका, संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भूमिकाका कारण चुनाव जित्ने कांग्रेसको विश्लेषण छ । सरकारको कामलाई लिएर विपक्षी र साझेदार दलकै नेताहरूको पनि वेलावेला प्रश्न उठ्ने गरेको छ ।
संसदबाट एमसिसी अनुमोदन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चुनावमा गठबन्धन बन्ने अभिव्यक्ति दिन थालेका थिए । एमसिसी अनुमोदन भएको चौथो दिन १९ फागुनमा बसेको गठबन्धनको बैठकमा देउवाले सत्तासाझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका थिए । संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनको अझै आवश्यकता रहेको गठबन्धनमा रहेका दलका नेताहरूले बताउँदै आएका छन् ।
चुनावी परिणाम अनुकूल दिने गरी प्रधानमन्त्री देउवाले सफल गठबन्धनका लागि रणनीतिक रूपमै कदम चालेका छन् । देउवाले सार्वजनिक रूपमै तीनै तहको निर्वाचनमा गठबन्धन बन्ने बताउँदै आएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट शक्तिशाली सभापति बनेका देउवा संघीय चुनावपछि पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भन्दै पाँचदलीय गठबन्धन बनेको थियो । त्यसैका आधारमा देउवा प्रधानमन्त्री बनेका हुन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा थिए । तर, एमसिसी मुद्दामा जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर, गठबन्धनमा भने जनमोर्चा कायमै छ ।
कांग्रेसका चुनावी कमान्डर खड्का
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिनेछन् । त्यसैगरी, केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने निर्णय छ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप कार्य अघि बढाइने कांग्रेसको निर्णय छ ।
अब सिट बाँडफाँडको गृहकार्य
कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णय लिएसँगै गठबन्धनभित्र सिट बाँडफाँडको मोडालिटीमाथि छलफलको आधार तयार भएको छ । माओवादी, एकीकृत समाजवादी र जसपाले यसअघि नै गठबन्धन गरेर जाने निर्णय लिइसकेकाले कांग्रेसको निर्णयपछि अब सिट बाँडफाँडको मोडालिटीमाथि छलफल हुने नेताहरूले बताएका छन् । गठबन्धनमा रहेका दलहरूले कांग्रेसको निर्णय स्वागतयोग्य रहेको र अब ‘मोडालिटी’मा छलफल हुने बताएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संयन्त्रमार्फत निर्णयलाई व्यावहारिक रूप दिइने बताए । ‘गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ । प्रदेश, जिल्ला, क्षेत्रीय समिति तहमा पनि संयन्त्र बन्छ । सम्बन्धित गठबन्धनमा रहेका दलहरू छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौँ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ,’ उनले भने, ‘गठबन्धन प्रक्रियालाई व्यावहारिक रूपमा अगाडि बढाउने काम गर्छौँ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडि बढाउँछौँ ।’
कांग्रेस औपचारिक निर्णयका असर के हुन सक्छन् ?
कांग्रेस कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठक । तस्बिर : संजित परियार/नयाँ पत्रिका
- तत्कालका लागि वाम गठबन्धन रोकिने
- सत्तागठबन्धनलाई स्थानीय चुनावमा कायम राख्ने
- आगामी पाँच वर्षको राजनीतिक शक्तिसन्तुलन प्रभावित
- आसन्न तीनै तहको चुनावमा पहिलो शक्ति बन्ने कांग्रेसको योजनालाई सघाउने
- प्रदेश र संघको चुनावमा पनि गठबन्धन बनाउने आधार तय गर्ने
- त्यसकै जगमा देउवालाई पुनः प्रधानमन्त्री बन्न सहज हुन सक्ने
- पहिलो शक्ति बन्ने एमालेको योजनालाई चुनौती दिने

कसले के भने ?
अब गठबन्धनलाई व्यावहारिक रूप दिन्छौँ : झलनाथ खनाल, नेता, नेकपा एस
स्थानीय तह र आउने निर्वाचनमा पनि तालमेल गर्नेबारे पाँचै दलका नेता एकमत नै थियौँ । कांग्रेसले निर्णय गर्न बाँकी थियो, उसले पनि गरेको छ । गठबन्धनबीच तालमेल सुनिश्चित भएको छ । जुन सिद्धान्त र आवश्यकताका आधारमा गठबन्धन बनेको हो, अब त्यही आधारमा अगाडि बढ्छ । सबै पार्टीले नीतिगत निर्णय गरेका छन्, व्यावहारिक रूपबारे आउने दिनमा छलफल हुन्छ ।
अबको बैठकमा मोडालिटीबारे छलफल : पूर्णबहादुर खड्का, उपसभापति, कांग्रेस
कांग्रेसले नीतिगत निर्णय गर्यो । अब गठबन्धनको बैठक बस्छौँ, पार्टीको कार्यसम्पादन समिति बैठक बस्छौँ, पदाधिकारी बैठक बस्छौँ । यी बैठकबाट तालमेलको मोडालिटी तय गर्छौँ । अब हुने गठबन्धनको बैठकमा यसले औपचारिक रूपमा प्रवेश पाउँछ । बैठकमा उम्मेदवार छनोटको मापदण्ड के गर्ने, कसरी गर्ने भन्ने विषयमा छलफल सुरु हुन्छ ।
एजेन्डा मिल्नेबीच चुनावमा सहकार्य : देवप्रसाद गुरुङ, नेता, माओवादी
गठबन्धनमा पहिला पार्टीभित्र निर्णय गरौँ भन्ने भएको थियो । कांग्रेसले निर्णय गरेको छ । गठबन्धनलाई निरन्तरता दिने स्वाभाविक नै भयो । एजेन्डा मिल्नेबीच चुनावमा सहकार्य हुन्छ । आवश्यकताअनुसार गठबन्धन गर्ने भन्ने कांग्रेसले ठिकै निर्णय गर्यो । गठबन्धन गर्दा पनि सम्बन्धित दलले आफ्नो मापदण्डका आधारमा उम्मेदवार चयन गर्लान् । गठबन्धन हुँदा त्यहाँ साझा मूल्य–मान्यता तय हुन्छ ।
गठबन्धनको बैठक बसेपछि टुंगो लाग्छ : उपेन्द्र यादव, अध्यक्ष, जसपा
कांग्रेसको निर्णय आयो, राम्रै भयो । अब गठबन्धनको बैठक बसेर कसरी चुनावी तालमेल गर्ने भन्नेबारे निर्णय हुन्छ । अहिले नै छलफल सुरु भएको छैन । मिलेर गठबन्धनसहित जानुपर्छ भन्ने छ, यसको आधार तयार भएको छ । बाँकी दलहरू पनि त्यसमा सहमत नै छन् । अब गठबन्धनको बैठक बसेपछि उम्मेदवार छनोटको मापदण्डदेखि बाँकी विषय टुंगो लाग्छ ।
गठबन्धनको बैठकपछि परिपक्व जवाफ आउँछ : दुर्गा पौडेल, उपाध्यक्ष, जनमोर्चा
कांग्रेसले पनि निर्णय गरिसकेपछि अब गठबन्धनको बैठक बस्ला । कसरी जाने भन्ने त्यसपछि मात्रै तय हुन्छ । गठबन्धनमा जाने रूपरेखामा एकरूपता देखिएको छैन, विविधता छ । त्यसैले गठबन्धनको एउटा बैठक नबसेसम्म परिपक्व रूपमा जवाफ दिन सक्ने अवस्था छैन । यसका लागि अझै समयको आवश्यकता पर्छ । बैठकपछि नै व्यावहारिक निर्णय होला ।
एक्लै लड्ने एमाले नीति कायमै
कांग्रेसको निर्णयलाई कुनै चुनौतीका रूपमा लिएका छैनौँ । त्यो निर्णय कांग्रेसको हैसियत ओरालो लाग्दै गएको प्रतीक हो । कमजोर हुँदै गएको शक्तिको निर्णयलाई चुनौती ठान्नुपर्ने कुनै कारण नै छैन । मूलतः आफ्नो खुट्टामै उभिएर चुनाव लड्ने हाम्रो निर्णयमा कुनै फेरबदल आउँदैन । कहीँकतै एकाध वडामा, एकाध पालिकामा स्थानीय आवश्यकता ठानेर कसैले तालमेल गर्नु बेग्लै कुरा हो, तर हाम्रो नीति आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने हो ।
सत्तागठबन्धनबीच स्थानीय तहको निर्वाचनमा तालमेल निश्चित देखिए पनि एमालेले एकल प्रतिस्पर्धा गर्ने मूल नीतिमा हेरफेर नगर्ने प्रतिक्रिया दिएको छ । एकल प्रतिस्पर्धाबाटै चुनाव जित्ने रणनीति एमालेको छ । यद्यपि, स्थानीय आवश्यकताका आधारमा तालमेलमा एमाले पनि खुला छ । कांग्रेसले स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय लिए पनि मूलतः एकल प्रतिस्पर्धा गर्ने पार्टीको पछिल्लो निर्णयमा कुनै फेरबदल नगर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एमालेले लगातार गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीबाट कार्यकर्ता प्रवेश गराउने नीति अभियानकै रूपमा चलाएको छ ।