निर्धारितबाहेक लोक सेवाका परीक्षा चुनावपछि

चुनावका २५ दिन लोक सेवाका ‘कामकारबाही ठप्प’

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

निर्धारितबाहेक लोक सेवा आयोगका लिखित परीक्षा चुनावपछि मात्र हुने भएको छ । स्थानीय तहको चुनावको १५ दिनअगाडि र १० दिनपछि गरी २५ दिन भने आयोगले पदपूर्तिसम्बन्धी सम्पूर्ण काम स्थगित गर्ने तयारी गरेको छ ।‘हाम्रो जनशक्ति पनि चुनावमा खटिने र उम्मेदवार (परीक्षार्थी) पनि चुनावमा व्यस्त रहने भएकाले चुनावको १५ दिनअगाडि र १० दिनपछिसम्म परीक्षा स्थगित गर्ने निष्कर्ष निकालिएको छ,’ आयोग स्रोतले भन्यो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदै छ ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले नयाँ भर्ना तथा परीक्षासम्बन्धी तालिका हेरफेर हुन सक्ने बताए । ‘निर्णय नै भइसकेको छैन । तर, आयोगका कर्मचारी पनि चुनावमा खटिने भएकाले केही समय हामी काम गर्दैनौँ,’ उनले भने । त्यसबाहेक नियमित काम हुने उनले बताए । ‘आचारसंहिता लागू भइसकेपछि के–के गर्न मिल्छ–मिल्दैन, निर्वाचन आयोगले स्पष्ट गर्ला,’ उनले भने, ‘आचारसंहिता लागे पनि आयोगको सहमतिमा केही काम गर्न सक्छौँ । प्रतिकूल असर गर्ने देखिएमा सेड्युल हरेफेर हुन्छ ।’

आयोगले निर्णय गरिनसके पनि निर्धारितबाहेक लोक सेवाका परीक्षा पनि चुनावपछि मात्र गर्ने गरी तयारी भइरहेको छ । यससम्बन्धी आयोगका पदाधिकारी र कर्मचारीको उच्च तहमा छलफल भइसकेको छ । यसबाहेक मध्य वैशाखसम्म निर्धारित परीक्षाबाहेक अन्य परीक्षा चुनावपछि मात्र गर्ने गरी आयोगले सम्बन्धित शाखालाई निर्देशन दिइसकेको छ । यसअघि मुद्दाका कारण अन्योलमा रहेका वाणिज्य बैंक, राष्ट्र बैंक, नेपाल टेलिकम, प्रहरी निरीक्षक र नेपाल सेनातर्फ अधिकृतको परीक्षाको तालिका चुनापछि मात्र तोकिनेछ । थारू क्लस्टरको मागसहित दायर मुद्दाका कारण केही महिना अन्योलमा रहेका यी विज्ञानमा सर्वाेच्च अदालतले १७ फागुनमा अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै परीक्षाको बाटो खुलेको थियो ।

चुनाव घोषणा भइसकेपछि १६ फागुनको मन्त्रिपरिषद् बैठकले स्टाफ नर्सका लागि तीन सय स्थायी दरबन्दी सिर्जना गरेको थियो । पदपूर्तिका लागि आयोगले २ चैतमा मात्र विशेष विज्ञापन आह्वान गरिसकेको छ । निर्वाचन आयोग ऐन, २०५३ (५) ‘घ’मा आचारसंहिता जारी भइसकेपछि नयाँ पद सिर्जना गर्न, रिक्त पदपूर्ति गर्न, भत्ता वृद्धि गर्न, ग्रेडलगायतका आर्थिक सुविधा वा कुनै किसिमका पुरस्कार प्रदान गर्न वा घोषणा गर्न नहुने’ उल्लेख छ । यद्यपि, ‘निर्वाचन आयोगलाई जानकारी गराई लोक सेवा आयोग, प्रदेश लोक सेवा, न्यायसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमित रूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न नपर्ने व्यवस्था,’ निर्वाचन आयोग ऐन, २०५३ मा छ । 

 निर्वाचन आचारसंहिता लागू हुने  मितिमा आयोग अनिर्णीत
आचारसंहिता लागू हुने मितिबारे भने आयोगले अझै निर्णय गरिसकेको छैन । निर्वाचन आचारसंहिता ३ चैतमा नेपाल राजपत्रमा प्रकाशित भए पनि कहिलेदेखि लागू हुन्छ अझै टुंगो छैन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वदलीय बैठकपछि मात्र आचारसंहिता लागू हुने बताए । ‘२२ चैतमा सर्वदलीय बैठकले निर्णय गर्छ, त्यसमा टेकेर हामी मिति तोक्छौँ,’ उनले नयाँ पत्रिकासँग भने । आयोगले यसअघि १५ चैतदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको थियो । तर, स्थानीय तहका बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दिनुपूर्व राजीनामा दिनुपर्ने विषय संहितामा समावेश गरिएपछि सर्वाेच्च अदालतमा रिट परेको थियो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले दायर गरेको रिटमा सर्वाेच्चले ८ चैतमा अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ । आचारसंहितामा भएकामध्ये एउटा विषयविरुद्धको मुद्दा सर्वाेच्चमा विचाराधीन रहेकाले आयोग अन्योलमा परेको हो । ०७४ मा स्थानीय तहको पहिलो चरणको चुनाव ३१ वैशाखमा भएको थियो । तर, १८ फागुनदेखि संहिता लागू गरेको थियो । उम्मेदवारको हकमा भने मनोनयन दर्तापछि मात्र संहिता लागू हुन्छ । 

सुझावित समाचार