नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादीसँगको एकीकरणपछि नेकपा एमाले नरहेकाे दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
उनले एमाले भनेको इतिहास भएको भन्दै अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए। खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि उनले बताए। एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि उनले आग्रह गरे। आगामी चुनावमा एमालेले दुईतिहाइ नभएर दुई तीन सिट मात्र ल्याउने उनको दाबी छ।
‘तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई भत्काउनका लागि पार्टी विभाजन गर्ने काम गरियो। तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो। हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो। त्यसले महत्त्वपूर्ण ऐतिहासिक भूमिका पनि खेल्यो । तर, निर्वाचनको पूर्वघडीतिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्यौँ। एकीकरण गरेपछि त्यतिवेला त नेकपा एमाले त सिध्यो नि। त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट ब्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ। हामीले बनाएको नेकपा एमाले त्यो होइन,' खनालले भने ।