गुल्मीमा महिलाभन्दा २६ प्रतिशत बढी पुरुषमा क्षयरोगको संक्रमण रहेको पाइएको छ। स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकअनुसार जिल्लाका एक सय ८७ क्षयरोगका बिरामीमध्ये ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिलामा क्षयरोगको संक्रमण रहेको छ। गत वर्षको तथ्यांकअनुसार एक सय ८६ क्षयरोगका बिरामीमध्ये ८८ जनाले कोर्स पूरा गरेका छन्। पाँचजनाको ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
मुसिकोटमा सबैभन्दा बढी क्षयरोगी
जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी ४२ जना क्षयरोगका बिरामी रहेका छन्। सत्यवती गाउँपालिकामा २१, रेसुंगा नगरपालिकामा २०, गुल्मीदरबार गाउँपालिकामा १८, छत्रकोट गाउँपालिकामा १६, चन्द्रकोट, धुर्कोट र रुरु क्षेत्रमा गरेर १२, इश्मामा ११, मदानेमा १०, मालिकामा नौ र कालीगण्डमीमा क्षयरोगका चार बिरामी रहेका स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन सुमन सापकोटाले जानकारी दिए।
जिल्लाका क्षयरोगीमध्ये ६१.५ प्रतिशत फोक्सो र ३८.५ प्रतिशत फोक्सोभन्दा बाहिरका देखिएका छन्। गत साल फागुनको तुलनामा यो वर्ष क्षयरोगका बिरामी ६४ प्रतिशतले बढेका सापकोटाले बताए।
‘सामुदायिक स्वास्थ्य सचेतना आवश्यक’
‘क्षयरोग अन्त्यका लागि लगानी गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ बिहीबार विश्व क्षयरोग दिवस मनाइयो। कोरोना महामारीले क्षयरोगविरुद्धको अभियानमा प्रतिकूल असर पुर्याएको छ। क्षयरोगविरुद्धको लडाइँ जारी राख्न र क्षयरोग रोकथाम तथा हेरचाहमा समान पहुँच सुनिश्चित गर्न सबै तहका सरकार, बुद्धिजीवी, स्वास्थ्यकर्मी र सरोकारवालाहरूले यस क्षेत्रमा पर्याप्त लगानी बढाउनुपर्ने अवस्था रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए। गुल्मी अस्पताल र नेपाल क्षयरोग निवारण संस्थाको संयुक्त आयोजनामा आयोजित सचेतनामूलक कार्यक्रममा डाक्टर पच्याले क्षयरोग क्षणिक समस्या नभएर सदाबहार लाग्ने भएकाले सामुदायिक स्वास्थ्य र सचेनता आवश्यक रहेको बताए।
कार्यक्रममा गुल्मी अस्पतालका तर्फबाट प्रियस लोहनी र निरज चौरासियाले विश्व र नेपालको सन्दर्भमा क्षयरोगको अवस्थाबारे सरोकारवालालाई जानकारी दिएका थिए। क्षयरोगको संक्रमण जिल्लाका १२ वटै स्थानीय तहमा रहेको छ। जसका कारण सबै स्थानीय तहले क्षयरोगीको पहिचान र उपचारसँगै संक्रमणबाट बचाउन अरू स्वस्थ नागरिकलाई पनि सचेतना आवश्यक रहेको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले बताए।
आचार्यले कार्यालयको तर्फबाट मदानेको अग्लुंग र मालिकाको दर्लिङमा स्क्रिनिङ क्याम्प, क्षयरोगको परीक्षण र प्रयोगशालाका स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिएको जानकारी दिए।
नेपालमा बर्सेनि थपिन्छन् ६९ हजार क्षयरोगी
क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर, २८ हजार ६ सय ७७ जना बिरामी मात्र केन्द्रको सम्पर्कमा छन् । सामाजिक लाञ्छना र भेदभावको डरका कारण ठूलो संख्यामा क्षयरोगी लुकेर बसेको केन्द्रले जनाएको छ। लुकेर रहेका रोगीलाई उपचारको पहुँचमा ल्याउनु नै प्रमुख चुनौती रहेको छ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको देखाएको थियो। यो रोगबाट नेपालमा बर्सेनि १६ हजारजनाको मृत्यु हुने गरेको छ।