नबिलले सुरु गर्‍यो वसन्तीका लागि अभियान

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर सामाजिक सचेतना अभियान सुरु गरेको छ । वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन बैंकले यो पहल गरेको हो । 

अभियानमार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको जनाएको छ । यसबाहेक, एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षलाई उजागर गर्ने प्रयास गर्ने बैंकको भनाइ छ । 

अभियानको सुरुवात गर्न बैंकले वसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको जनाएको छ । यसै सिलसिलामा बैंकले चैत मंगलवार विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गर्नेे उल्लेख छ । सामाजिक अभियन्ता उज्ज्वल थापा, सञ्चारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंह र डा. रोजिना शिल्पकारसहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरूको सवाल उठान गरिएको थियो ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत–वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह–सहयोगसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउन र एसिड आक्रमणका बारेमा आमजागरुकता बढाउन यो छलफलले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाई स्टिरियो टाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ । 

वसन्ती परियारलाई पीडकले एसिड छर्किनुका साथै ६ पटकसम्म चक्कु प्रहार गरेर उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितका रूपमा नभई बहादुर जीवनयापकका रूपमा आफ्नो पहिचान बनाउन चाहने बैंकले जनाएको छ । 

सुझावित समाचार