प्रधानमन्त्री नगरपालिकाको भवन उद्घाटन गर्न आउने भएपछि गोदावरीमा रातारात सडक कालोपत्रे

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

ललितपुरको सातदोबाटोनजिकै चापागाउँ दोबाटोबाट रिङरोड बाहिरिने सडक सुरु हुन्छ। उक्त सडकको करिब दुई किलाेमिटर क्षेत्र फराकिलो र चिल्लो पारिएको छ। ढोलाहिटी हुँदै सुनाकोठी चोकसम्म सडक कालोपत्रे भएको छ। जब सुनाकोठीको गेट आउँछ, त्यहाँबाट दक्षिणतर्फको सडकको अवस्था बेहाल छ। 

सडकभरि खाल्डैखाल्डा छन्। त्यही सडकमा सवारीसाधन गुड्दा आसपासमा निसासिने गरी धुलो उडिरहन्छ। अत्यधिक धुलाका कारण सुनाकोठी र ठेचोका स्थानीयले पसलका सटर बन्द गरेर बसेका छन्। धुलो र खाल्डाखुल्डीका कारण सडकमा पैदलसमेत हिँड्न सकिने अवस्था छैन। सुनाकोठी, ठेचो हुँदै चापागाउँ प्रहरी वृत्तसम्म सडक भत्किएको छ। साँधुरो सडकमा खाल्डैखाल्डा छन्। 

तर, प्रधानमन्त्री शेरबहादुर देउवा गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न जाने भएपछि गोदावरी नगरपालिकानजिकको भित्री सडक भने गएराति कालोपत्रे गरिएको छ। प्रधानमन्त्री त्यहाँ आउने भएपछि रातारात सडक कालोपत्रे गरिएको हो। 

‘प्रधानमन्त्री नगरपालिकाको भवन उद्घाटनमा आउने भएपछि रातारात नगरपालिकाले सडक कालोपत्रे गरेको छ, तर चार वर्षदेखि स्थानीयले सडक मर्मत र कालोपत्रे गर्न राखेको माग नगरपालिकाले पूरा गरेको थिएन,’ सुनाकोठीका राकेश महर्जनले भने।

ललितपुर महानगरपालिका– २७ वडाका वडाध्यक्ष बाबुराज महर्जनले सडक फराकिलो पार्ने र कालोपत्रे गर्ने योजनामा माथिल्लो निकायले चासो नदिँदा समस्या हुँदै आएको बताए। उनले प्रधानमन्त्रीको अचानक त्यस क्षेत्रमा आगमन हुने भएपछि भत्किएको र खाल्डाखुल्डी सडकलाई केही मर्मत गरिएको बताए। 

सडकको ठूला खाल्डाहरू पुरिएको छ। कतिपय ठाउँमा कालोपत्रे गरिएको छ। ‘वडा कार्यालयअगाडिको सडक बेहाल छ, मैले चार वर्षदेखि चाहेर पनि उक्त सडक बनाउन सकिनँ,’ उनले भने, ‘माथिल्लो तहका नेतालाई त नटेर्ने ठेकेदारले वडाध्यक्षलाई कहाँ टेर्थे ?’ उनले प्रधानमन्त्री आउने भएपछि सुनाकोठीदेखि बज्रबाराहीसम्मको सडक सहज बनाइएको बताए। 

गोदावरी नगरपालिकाको नवनिर्मित भवन बज्रबाराहीमा पर्छ। सो क्षेत्रमा चापागाउँ क्षेत्र हुँदै त्यही खाल्डाखुल्डी परेको सडकबाट प्रधानमन्त्री प्रस्थान गर्नेछन्। तर, प्रधानमन्त्रीको सवारी हुने भएपछि उक्त सडक गएराति केही मर्मत गरिएको छ। 

सुनाकोठीदेखि ठेचोसम्म ग्राभेल बिछ्याइएको छ। चापागाउँ क्षेत्रमा पनि भत्किएको र खाल्डाखुल्डी परेको सडकमा माटो राखेर सम्म पारिएको छ। मुख्य सडकमा खाल्डैखाल्डा भएपछि त्यसलाई हतारहतार ढाकछोप गर्न गोदावरीले गएराति डोजर प्रयोग गरेको थियो। नगरपालिकाले चापागाउँ हुँदै बज्रबाराही जाने भित्री करिब डेढ किलाेमिटर सडक भने गएराति कालोपत्रे गरेको छ।

दिउँसो करिब ३ बजे प्रधानमन्त्री त्यस क्षेत्रमा पुग्ने कार्यक्रम रहेको ललितपुर प्रहरीले जनाएको छ। प्रधानमन्त्रीको आगमन हुने भएकोले गोदावरी क्षेत्रको केही सडक रातारात कालोपत्रे भएको महानगरीय प्रहरी वृत्त चापागाउँमा डिएसपी द्वारिका घिमिरेले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री त्यस क्षेत्रमा पुगेर भवन उद्घाटन गरेर फर्कनेछन्। प्रधानमन्त्री पुग्ने भएपछि चापागाउँ क्षेत्रको सुरक्षा अवस्था पनि कडा पारिएको ललितपुर प्रहरीले जनाएको छ। 

सुनाकोठी–ठेचो–चापागाउँ सडक बिग्रिएको चार वर्ष बित्यो। खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे हुँदा पनि यो सडक सरकारी निकायले व्यवस्थित गर्न चासो दिएका छैनन्। उपत्यकालाई हेटौँडासँग जोड्ने कान्तिलोकपथ पनि यही सडकखण्डभित्र पर्छ। 

यही सडक हुँदै हेटौँडा जोडिने कान्तिलोकपथ सडक निर्माण कार्य भइरहेको छ। तर, मुख्य बस्ती र सहरी क्षेत्रमा भने सडक निकै साँघुरो छ। ठेकेदारकै कमजोरीले जनघनत्व बढी भएको क्षेत्रको सडक बेहाल अवस्थामा रहेको ठेचो–चापागाउँ सडक संघर्ष समितिका संयोजक शेखर न्यौपाने बताए। उनका अनुसार सडक बिग्रिएपछि ओहोरदोहोरमा निकै समस्या हुने गरेको छ। त्यस्तै, सडक साँघुरो हुँदा बिहान र बेलुकी कार्यालय समयमा ट्राफिक जाम हुने गरेको छ। 

सुनाकोठी–ठेचो–चापागाउँ सडक बनाउने जिम्मा काठमाडौं उपत्यका  सडक विस्तार आयोजनाको हो। आयोजनाले ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक दुई खण्ड विभाजन गरेर यो सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई ठेक्का लगाएको थियो। 

तर, दुई वर्षको अवधिमा सक्ने गरी ०७३ मा ठेक्का दिइएको ठेक्का अझै सकिएको छैन। सडकखण्ड मर्मत र कालोपत्रेको जिम्मेवारी पाएको दिवा/शैलुङ जेभी र कन्टेक प्रालिले सडक मर्मत गर्न अटेर गर्दै आइरहेको छ। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार उक्त सडक ०७५ कात्तिक मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने हो। तर, ठेकेदार कम्पनीले स्थानीय जनप्रतिनिधिलाई समेत अटेर गरेको मेयर महर्जनले बताए। 

‘यो क्षेत्रमा घर भत्काएर सडक फराकिलो पार्नुपर्ने हुन्छ, त्योचाहिँ अप्ठेरो काम हो,’ उनले भने, ‘तर, ठेकेदारले सामान्य कालोपत्रे गर्ने कार्यलाई समेत आलटाल गर्दा जनप्रतिनिधिले गाली खानुपर्यो।’
 

सुझावित समाचार