प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु हुँदै

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुई सयजना पत्रकार पोखरामा भेला हुँदै छन् ।  महाधिवेशनमा नाै सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरूकाे सहभागिता रहनेछ । महाधिवेशनमा सहभागी हुन उनीहरू आउने क्रम सुरु भएको छ ।

बिहीबारसम्म आधाभन्दा बढी सहभागीहरू पोखरा आइसकेका छन् भने केही बाटोमा आउँदै गरेका छन् । केही शुक्रबारसम्म आइपुग्ने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गर्नेछन् । 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले सञ्चार क्षेत्रको मुद्दाबारे सहभागीहरूबीच गहन रूपमा छलफल हुने बताए । सञ्चार क्षेत्रको मुद्दाबारे गहन ढंगले बन्दसत्रमा छलफल हुने बताउँदै पाण्डेले भने, ‘नीति र नेतृत्वको हिसाबले महाधिवेशन महत्वपूर्ण हुनेछ । मूलतः यो महाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्छ।’  

नेपाली सञ्चार क्षेत्रको वर्तमान मुद्दा, त्यो मुद्दालाई सम्बोधन गर्ने नेतृत्व यो महाधिवेशनले तय गर्छ । प्रेस चौतारी सुव्यवस्थित रूपमा कसरी अगाडि बढ्छ, संगठन सुदृढीकरणमा कसरी अगाडि बढ्छ भन्ने मुख्य कुरा रहेको पाण्डेको भनाइ छ । महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने भन्दै पाण्डेले अहिलेको परिवर्तन र पत्रकारितामा आएका चुनौतीहरूलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व महाधिवेशनले छनोट गर्ने बताए । 

 ११ जना पत्रकार पुरस्कृत हुँदै
महाधिवेशनमा ११ जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्टलाई पुरस्कृत गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्णविनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदमलक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत गरिने भएको छ ।
 

सुझावित समाचार