बागमती प्रदेशमा स्नातक उत्तीर्ण इन्जिनियर निजामती सेवामा प्रवेश गर्दा सातौँ तह कायम गरिने

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियर निजामती सेवामा प्रवेश गर्दा सातौँ तह कायम गर्ने व्यवस्था गरेको छ । प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौँ तहमा आह्वान भएको भन्दै इन्जिनियरहरूले मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई सातौँ तहका लागि विज्ञापन आह्वान गर्न माग गरेको थियो । प्रदेश लोकसेवा आयोगले छैठौँ तहका लागि विज्ञापन खुलाएको भन्दै एसोसिएसनले विरोधसमेत जनाएको थियो ।
    
प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयले तयार गरिरहेको विधेयकको मस्यौदामा इन्जिनियरिङ क्षेत्रका विभिन्न संगठनले उठाउँदै आएका माग प्रदेश सरकारले सम्बोधन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेपश्चात् प्रदेश निजामती सेवा विधेयकमा सातौँ तह कायम गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् । लोकसेवाबाट १० माघमा प्रकाशित विज्ञापन रद्द गर्ने वा नगर्ने भन्ने विषयमा आयोगका सबै पदाधिकारीहरू र मुख्यमन्त्री पाण्डेबीच भएको छलफलबाट सातौँ तह कायम गर्ने सहमति भएको थियो । विज्ञापन रद्द गर्दा ३५ वर्षे उमेर हदको कारण योग्य र प्रतिभावान जनशक्तिको लागि ढोका बन्द हुने भएकोले प्रदेशले ऐन जारी गर्दा वा अध्यादेश ल्याउँदा तह समायोजन गर्नका लागि लोकसेवा आयोगका अध्यक्षले सुझाव दिएका थिए । 
    
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिं तामाङले मुख्यमन्त्रीको निर्देशनबमोजिम मस्यौदा तयार भइसकेको जानकारी दिए । मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले संगठनहरूले निरन्तर आवाज उठाएपछि माग सम्बोधन गरिएको बताए । 

सुझावित समाचार