नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान गर्ने गरी यो योजना ल्याएको हो ।
यो कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका, तर नियमित आम्दानी नहुने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि ल्याइएको बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकलाई निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने जनाइएको छ । प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजताअनुसार प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटपजस्ता वस्तुहरू खरिद गर्नका लागिसमेत कार्डको प्रयोग गर्न सकिने उल्लेख छ ।
योजनाले मुद्दती निक्षेप खातावाल–ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागिसमेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प–सुविधा प्रदान गरेको जनाइएको छ । यस योजनाअन्तर्गत दुई लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।