इन्जिनियरको चुनावमा पाँच प्यानल

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार चुनाव हुँदै छ । चुनावमा विभिन्न पार्टीनिकट एकल तथा गठबन्धन गरेर पाँच प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । देशमा अहिलेसम्म ५२ विधामा ६७ हजार इन्जिनियर उत्पादन भइसकेका छन् ।

त्यसमध्ये करिब ४० हजार इन्जिनियर नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका छन् । तीमध्ये पनि २२ हजार इन्जिनियरले नयाँ नेतृत्व चयनका लागि भाग लिँदै छन् । यसपटक कार्यसमितिबाहेक दोस्रो प्रदेश कार्यसमिति र नेपाल इन्जिनियरिङ परिषद् सदस्य प्रतिनिधिको पनि पनि चुनाव हुँदै छ । निर्वाचनका लागि देशका १५ ठाउँमा मतदान केन्द्र तोकिएको छ । 

इन्जिनियर डा. सुरज लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।  नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीनिकट इन्जिनियरहरूको प्यानल बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएको हो । यस गठबन्धनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा डा. भेषराज थापा, उपमहासचिवमा शिवराम केसी र कोषाध्यक्षमा डा. आनन्द सिंह छन् । त्यस्तै, सहकोषाध्यक्षमा अर्जुन पौडेल चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामीको नेतृत्वमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दिने त्रिपाठी र दीपक अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन् । 

कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूह पनि चुनावी मैदानमा रहेको छ । यस समूहको नेतृत्व दिलीपकुमार झाले गरेका छन् । उपाध्यक्षमा ऋषि कोइराला र महासचिवमा कृष्णसिंह बस्नेत रहेका छन् । उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः सुधीर गुरागाईं , रमिता श्रेष्ठ र सञ्जयकुमार महतो रहेका छन् । माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीनिकटको एकीकृत प्रगतिशील इन्जिनियर समूहको नेतृत्व डा. हरिराम पराजुलीले गरेका छन् । उपाध्यक्ष र महासचिवमा क्रमशः न्हसला तुलाधर र डा. शंकर ढकाल छन् भने उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः समित थापा, श्यामनारायण चौधरी र स्मिता भट्ट छन् ।  

नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर्स सोसाइटी नेपालका तर्फबाट राजेन्द्रप्रसाद हाडाको नेतृत्वको प्यानल चुनावी तयारीमा छ । यस प्यानलबाट उपाध्यक्षमा सबिन महर्जन, महासचिवमा रूपेश प्रजापति, उपमहासचिवमा सुनीता दुवाल, कोषाध्यक्षमा सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा  रविन कासुला छन् ।  

सुझावित समाचार