अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा छ : पूर्वगभर्नर नेपाल

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताएका हुन्।

चालू आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स लगातार रूपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको उनले बताए। राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको उनले उल्लेख गरे।

अन्तर्राष्ट्रिय मुद्रा कोषले इमर्जिङ अर्थतन्त्रका लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुनुपर्ने बताएको उनको जानकारी दिए। डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधारसमेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे। सरकारले अर्थतन्त्र सहज बनाउन तत्काल विदेशी सहयोग अनुदानका लागि पहल गर्नुपर्ने उनले बताए। अहिलेकै अवस्थामा चालू आवमा सरकारले राखेको राजस्व संकलनको लक्ष्य र ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने उनको दाबी छ। 

‘अहिले मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा रहेको छ। सबैभन्दा ठूलो समस्या के भन्दा रेमिटेन्स घटेको छ। रेमिटेन्सको आधारमा जम्मा भएको हाम्रो विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएको छ। पाँच महिनादेखि सञ्चिति घट्दै गएर जम्मा ६ महिनाका लागि वस्तु आयात धान्न सक्ने मात्रै छ। यो अझै घट्दै गयो भने अझै गाह्रो पर्छ,' उनले भने, 'अब विदेशबाट लिने ऋण अनुदानका लागि सरकारले तुरुन्त पहल गरेर, विदेशी अनुदानका लागि नीति तथा कानुनमा समेत परिमार्जन गरेर जानु आवश्यक छ। अहिलेको अवस्थामा सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन। भन्नलाई जे भन्दिए पनि भयो । ७ प्रतिशत आर्थिक वृद्धिदर हुन गाह्रो छ।’

सुझावित समाचार