श्रीलंका नेभी नेपालसँग १११ रनले पराजित

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अभ्यास खेलका क्रममा पहिलो ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा दुई सय १४ रनमा अलआउट भएको थियो ।

प्रत्युत्तरमा नेभीले नेपालका बलरहरूको उत्कृष्ट बलिङ सामना गर्न नसक्दा २८.५ ओभरमा एक सय तीन रन मात्र जोड्न सक्यो । नेपालको सानदार जितमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.५ ओभरमा एक मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । ब्याटिङमा कमजोर देखिएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बलिङमा राम्रो प्रदर्शन गरे । उनले एक ओभरमा आठ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले चार ओभरमा १३ रन खर्चेर २ विकेट लिए । 

फास्ट बलर करण केसीले पाँच ओभरमा एक मेडन राखी २० रन खर्चेर एक विकेट लिए । कमलसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे । श्रीलंकाको नेभीका लागि ब्याटिङ इनिङ्समा मधुशंकाले सर्वाधिक ३९ रन बनाएका थिए । उनले ६८ बल सामना गरे । नेभीका अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालको ब्याटिङमा फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेल १३ बलमा तीन चौकाको सहयोगमा १६ रन जोडे । अर्का ओपनर आसिफ शेख ३८ बलमा पाँच चौकासहित ३६ रन बनाए । 

मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल १३ रन र विनोद भण्डारी २२ रन जोडे । विनोदले २५ बलमा दुई चौका हिर्काए । रोहितले १५ बलमा दुई चौका प्रहार गरेका थिए । कमलसिंह ऐरीले सामान एक चौका र छक्का प्रहार गरी १६ रन बनाए । सन्दीप र र विक्रम सोबले समान ११ रन बनाए । यसैगरी सागर ढकालले २० बलमा १३ रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो ।नेभीका लागि स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा एक मेडन राखी ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अवदतले १० ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँग नै खेल्नेछ । तेस्रो अभ्यास खेल ११ मार्चमा श्रीलंका पुलिस र १२ मार्चमा कोलोम्बो–११ सँग खेल्नेछ । कोलोम्बो–११ मा प्रथम श्रेणीमा खेलेका खेलाडी हुनेछन् । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल १६ मार्चमा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्नेछ । 

See More On

सुझावित समाचार