जसले खेलमैदानका लागि घरवास छोड्ने निधो गरे

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

सरकारी जग्गालाई कब्जा गर्ने र नछोड्ने प्रवृत्तिले धेरै ठाउँमा विकास निर्माणका काम रोकिएका छन् । थप विकास हुन सकिरहेको अबस्था हुँदैन । तर, विकासका लागि घरवास नै छोड्न सक्नुपर्छ भन्ने एउटा उदाहरण बनेका छन्, तुलसीपुरका दुई परिवार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको खेलमैदानका लागि त्यहाँका दुई घरले आफ्नो घरवास नै छोड्ने बताएका छन् ।

वडाको गौरीडाँडाको खेल मैदानका त्यहीनजिक ऐलानीमा बस्दै आएका शर्मिला नेपाली र कैलास नेपालीले घर स्थानान्तरण गर्ने मौखिक सहमति गरिसकेका छन् । अब कानुनी प्रक्रिया पुर्‍याएर उनीहरूलाई स्थानान्तरण गर्ने वडाध्यक्ष नवराज लामिछानेले बताए । ‘छोड्ने मौखिक सहमति भइसकेको छ, अब कानुनी प्रक्रिया पुर्‍याएर हामीले उनीहरूलाई स्थानान्तरण गर्ने हो’,उनले भने “त्यसका लागि खेलमैदान निर्माण भइरहेको छ, ती घरहरूको क्षेत्रमाथि माथिसम्मको क्षेत्रमा हामीले मैदान निर्माण गर्नुपर्ने हुन्छ, त्यसैले घरहरू हटाउनैपर्छ ।’

स्थानीयहरू पनि विकासका लागि घर हटाउन तयार भएको बताएका छन् । आफूहरूले विकास निर्माणका लागि घर हटाउन तयार भएको शर्मिला नेपालीले बताइन् । ‘अर्को ठाउँ घरको व्यवस्थापन गर्ने भन्नुभएको छ, अहिले हामीसँग १० धुर जग्गा छ’, उनले भने‘ यहाँबाट हटाएर अर्को ठाउँमा  दिने भएपछि  हामीले यो ठाउँबाट छोड्न तयार भएका हौँ ।’ मैदान निर्माणदेखि उत्तर तिर  रहेका दुईवटा घर हटाएर  मैदान निर्माण  गर्न  लागिएको  र पश्चिम दक्षिणतर्फ रहेका दुईवटा घर पनि हटाउन सकिने गरी सहमति गरेको वडाध्यक्ष लामिछानेले बताए । ‘अहिले हामीले दुईवटा घर हटाउने तयारी गरेका  छौंँ, अब अन्य दुईवटा घर पनि हटाउनुपर्ने अवस्थामा ती घर पनि हटाउने एउटा समझदारी बनेको छ’, उनले भने । 

त्यहाँ रंगशाला निर्माण  गर्ने गरी डिपीआर  तयार भएको छ । त्यहीअनुसार काम सुरु भएको वडासदस्य वर्षात् भण्डारीले बताए । ‘खासमा विगतमा यो तीन वटा गाउँ–उत्तर कपडादेवी, मोतिपुर, राजापुरको खेलमैदान हो’,उनले भने‘ तर, यसलाई त्यत्तिमा  मात्रै सीमित नराखेर रंगाशाला बनाउने सपनाअनुसार हामीले काम अघि बढाएका छौँ ।’

डिपीआरअनुसार ११ करोड लगानीमा त्यहाँ रंगशाला बन्नेछ । सोहीअनुसार आफूहरू निर्वाचित भएदेखि सोही खेलमैदानमा प्रत्येक वर्ष बजेट छुट्याएको सदस्य भण्डारीको भनाइ छ । ‘हामी निर्वाचित भएर आएदेखि अहिलेसम्म यही खेलमैदानका लागि करिब ३०  लाख खर्च भइसकेको छ’,उनले भने‘बजेटका लागि संघ र प्रदेशमा पनि पहल भइरहेको  छ ।’

त्यहाँ डेढ बिघा क्षेत्रफलमा फुटबल खेलमैदान निर्माण हुन लागेको हो । त्यहाँ ‘माटो फिलिङ’को काम भइरहेको छ । ‘ग्राउन्ड’ बनेपछि त्यहाँ तारबार लगाउने काम हुनेछ । त्यहाँको खेलमैदान दशरथ रंगशालाजस्तो बनाउने गरी डिपिआर भएको वडासदस्य भण्डारीको भनाइ छ । उपमहानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गरिसकेको भन्दै सोहीअनुसार वडामा स्तरीय  खेलमैदान हुनु राम्रो कुरा भएको उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले बताए । 
 

सुझावित समाचार