सरकारले पेट्रोल पम्प व्यवसायीहरूले पाउँदै आएको कमिसन कटौती गरेपछि व्यवसायीहरूले पेट्रोल तथा डिजेल उठाउन बन्द गरेका छन्। शुक्रबार बिहानदेखि उनीहरूले नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका छैनन्।
केही सरकारी पम्पहरूले भने पेट्रोलियम पदार्थ उठाएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार उपत्यकाको थानकोट डिपोबाट पेट्रोलियम पदार्थ उठेको छैन। त्यस्तै, तराईका डिपोबाट पनि व्यवसायीहरूले इन्धन उठाएका छैनन्। व्यवसायीहरूले यसअघि खरिद गरेका स्टक पेट्रोलियम बिक्री गरिरहेका छन्। उनीहरूले डिलरले पाउँदै आएको कमिसन यथावत् राख्नुपर्ने माग गरेका छन्।
‘भारतबाटै पेट्रोलियम पदार्थ महँगो भएर आयो, त्यसलाई नेपाली रुपैयाँमा समायोजन गर्दा थप महँगो पर्न जान्छ, त्यसकारण हामीले सर्वसाधारणलाई मर्का नपर्ने गरी नयाँ मूल्य समायोजन गरेका छौँ, त्यसलाई मिलाउँदा व्यवसायीले पाउँदै आएको कमिसन पनि कटौती गर्नुपरेको हो,’ प्रवक्ता उपाध्यायले भने। उनका अनुसार आज बिहानैदेखि देशभरका अधिकांश डिपोहरूबाट इन्धन उठेको छैन। नेपाल पेट्रोेलियम डिलर्स एसाेसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघले कमिसन कटौतीको विरोध गरेका छन्।