प्रमुख सत्तारुढ दल कांग्रेसको बाँके जिल्ला सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणका मतदान शुक्रबार हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका तीनैजना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान शुक्रबार हुन लागेको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए ।
निर्वाचनमा संस्थापनइतरका नारायणप्रसाद गौडेलले अग्रता लिएका छन् । उनले पाँच सय ६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार बादशाह कुर्मीले पाँच सय ३८ र सुरेन्द्रबहादुर हमालले तीन सय १४ मत पाएका छन् । कुर्मी र हमाल संस्थापन पक्षका हुन् ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने गौडेल र दोस्रो स्थानमा रहेका कुर्मीबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका हमालले दोस्रो चरणमा कुर्मीलाई समर्थन गर्ने भएका छन् । उनले यसअघि दुवैजना संस्थापन पक्षका उम्मेदवार भएको बताउँदै दोस्रो चरणको निर्वाचन भए एकले अर्कोलाई सघाउने बताएका थिए ।
सभापतिका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । सभापति पदका लागि मतदान भएपछि सभापतिसँगै अन्य पदको मत गणना हुने निर्वाचन अधिकृत शाहीले बताए ।