एमजीको नयाँँ विद्युतीय गाडी बजारमा

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ नेपाली बजारमा ल्याएको छ । कम्पनीले स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा दुईवटा ब्याट्री प्याकको विकल्पसहित बजारमा ल्याएको हो । 

५१.५८ किलोवाट आवर हाई–टेक ब्याट्री भएको गाडीले एकपटकको चार्जिङमा पाँच सय १३ किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । त्यस्तै, ७२.६ किलोवाट आवर ब्याट्री भएको गाडी एकपटकको चार्जमा सात सय आठ किमि गुड्ने जनाइएको छ । यसको ग्राउन्ड क्लियरेन्स एक सय ७५ मिलिमिटर रहेको छ । यसअघि कम्पनीले सार्वजनिक गरेको एमजी जेडएस इभीको रेन्ज तीन सय ४० किलोमिटर रहेको थियो ।

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरू गरिएको कम्पनीको दाबी छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै, रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेल ल्याम्पहरू छन् । एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स ड्राइभर असिस्ट्यान्स सिस्टम भएकाले यो गाडी एकदमै सुरक्षित मानिएको कम्पनीले जनाएको छ । 

यो गाडीमा एक सय ३० एचपी पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको दरमा गुड्न सक्ने कम्पनीले जनाएको छ । एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्विल्स र २.५ को पिएम फिल्टरलगायत अन्य धेरै सुविधाहरू रहेको जनाइएको छ । 

यसमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल रहेका छन् । यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ । कम्पनीले स्ट्यान्डर्ड रेन्जको गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको जनाएको छ । 

सुझावित समाचार