विमानस्थलमा सर्वसाधारणलाई सास्ती, सुन तस्करी गर्नेलाई ‘सहज’

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

भिजिट भिसामा मानव तस्करी बढेको भन्दै सरकारले गत १० माघदेखि नयाँ मापदण्ड लागू गर्र्दै अत्यावश्यकबाहेकको अवस्थामा भिजिट भिसामा विदेश जान रोक लगायो । नयाँ मापदण्डले अत्यावश्यक कामले जान लागेकासमेत मापदण्डभित्र नपर्दा कतिपय रोकिए । तर, सुन तस्करी गर्नेको हकमा भने नयाँ मापदण्डले रोकन । 

गत शुक्रबार तस्करीको एक केजी एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका सुनसरीका कमल घिमिरे १७ माघमा भिजिट भिसाा सहजै दुबई गएका थिए ।  उनको कुनै अत्यावश्यक काम देखिने अधार नभए पनि अध्यागमन कर्मचारीले रोकेनन्, किनकि भिजिट भिसा मात्र होइन सुन तस्करीका लागि समेत उनले अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएका थिए । 

दुबईबाट ल्याएको सुन अध्यागमनका नायब सुब्बा लक्ष्मण गुरागाईले नै पास गरिदिएका थिए । अध्यागमनको काउन्टरअगाडि रहेको शौचालयमा घिमिरेले सुन गुरागाईलाई दिए । भन्सार चेकिङबाट घिमिरे बाहिर आएपछि बाहिरतर्फको शौचालयमै गएर गुरागाईले उनलाई तस्करीको सुन दिएका थिए । प्रहरीलाई शंका लागेर घिमिरेलाई पक्राउ गर्दा उनीसँग तस्करीको सुन भेटिएको थियो । पछि सिसिक्यामेरामार्फत अनुसन्धान गर्दा अध्यागमन कर्मचारीले नै पास गरिदिएको खुलेको हो । त्यसपछि गुरागाईलाई समेत पक्राउ गरी भन्सार बुझाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा उनीहरूबीच लामो समयदेखि च्याट हुँदै आएको र त्यसमा सुन पास गराउने कुरा उल्लेख छन् । 

सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ
यो घटनाले भिजिट भिसा र सुन तस्करीमा अध्यागमन कर्मचारीको साँठगाँठ र प्रहरीको कमजोरी देखाउँछ । विमानस्थल प्रवेश गर्ने तथा बाहिर आउँदा कर्मचारीको हकमा समेत ‘वाक थु्र गेट’मार्फत चेकजाँच गर्नुपर्ने प्रावधान भए पनि त्यो नियम लागू नहुँदा यसरी कर्मचारीले तस्करीमा सघाउने गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने अध्यागमन कर्मचारीले पाउने पासको दुरुपयोग गरी नासु गुरागाईले त्यसरी तस्करी गरेको र त्यसमा प्रहरीको कुनै गल्ती नभएको बताउँछन् । 

घिमिरे आठपटक यसरी दुबई पुगेर आएको देखिन्छ । प्रारम्भिक छानबिनमा उनी सुन तस्करीकै लागि जाने गरेको देखिएको छ । यसअघि १५ माघमा मात्र उनी दुबईबाट नेपाल आएका थिए । त्यस्तै, १ माघ, १० पुस, ८ मंसिर, २७ कात्तिक र २७ भदौमा उनी दुबईबाट नेपाल फर्किएका थिए । 

त्यस्तै, २०२० मा दुईपटक र २०१८ पनि दुईपटक विदेश गएका आएको देखिन्छ । पटकपटक दुबई जानुले उनी सुन र डलर तस्करीमा संलग्न भएको प्रहरी अधिकारीको आकलन छ । यद्यपि यस विषयमा अनुसन्धान गर्ने अधिकार भन्सारलाई भएकाले विस्तृत बुझ्न नसकिएको विमानस्थल प्रहरीका एक अधिकारी बताउँछन् । प्रहरीले सुनसहित घिमिरेलाई भन्सारमा बुझाइसकेको छ । भन्सारले सूक्ष्म अनुसन्धान नगर्ने भएकाले यसरी अध्यागमन कर्मचारीसँग समेत सेटिङ मिलाएर तस्करी गर्ने गिरोहले उन्मुक्ति पाउने जोखिम बढेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही घिमिरेले संयुक्त अरब इमिरेट्सको आवासीय अनुमति लिएको र सोही आधारमा उनलाई भिजिट भिसामा जान दिइएको बताउँछन् । सो विषयमा भन्सारले अनुसन्धान गरिरहेकाले थप जानकारी नभएको उनको भनाइ छ ।

सुझावित समाचार