महामारीको मारमा आर्ट ग्यालरी : चहलपहल न्यून बिक्री शून्य

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण
महामारीको मारमा आर्ट ग्यालरी : चहलपहल न्यून बिक्री शून्य

ललितपुरको पुल्चोकस्थित सुनसान विकल्प आर्ट ग्यालरी ।

ललितपुरको पाटनढोकास्थित ‘क्लासिक आर्ट ग्यालरी’मा केही दिनदेखि ११ जना कलाकारको पेन्टिङ संयुक्त रूपमा प्रदर्शनी भइरहेको छ । ‘कनेक्टिभ क्रियटिभिटी’ शीर्षकमा पेन्टिङहरू प्रदर्शनी र बिक्रीमा राखिए पनि हेर्न आउने दर्शक र बिक्री शून्यजस्तै छ । 

ललितपुरकै पुल्चोकमा रहेको ‘विकल्प आर्ट ग्यालरी’मा पनि कलाकार नम्रता सिंहको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । ग्यालरीकै आयोजनामा भइरहेको प्रदर्शनीमा मिथिला कलासँग सम्बन्धित १५ वटा पेन्टिङ प्रदर्शनी र बिक्रीमा राखिएको छ । प्रदर्शनीमा राखिएको पेन्टिङ एकाधबाहेक बिक्री हुन नसकेको सिंहले बताइन् । 

चाकुपाटस्थित ‘एम क्युब ग्यालरीमा कलाकार रविता किसीको पेन्टिङहरू प्रदर्शन र बिक्रीमा राखिएको छ । यहाँको अवस्था पनि विकल्प आर्ट ग्यालरी र क्लासिक आर्ट ग्यालरीको भन्दा फरक छैन । 

कोरोना महामारीपछि काठमाडौंका सबैजसो आर्ट ग्यालरीको दिनचर्या उस्तै बनेको छ । बिहानै आर्ट ग्यालरी खोल्ने र राति अबेरसम्म अवलोकनकर्ताको प्रतीक्षामा रहनेछ । महामारी सुरु हुनुअघिसम्म पेन्टिङ र कलाकारले भरिने म्युजियम र आर्ट ग्यालरी दुई वर्षदेखि सुनसान छन् । आफ्नो सिर्जना बोकेर देश तथा विदेश कलाकारहरू भर्चुअलमै सीमित भएका छन् । खुला ठाउँ खोज्दै कुची र रङमा रमाउने कलाकार र पेन्टिङ कोठामै थन्किएका छन् ।

क्लासिक आर्ट ग्यालरीकी सञ्चालिका तथा क्युरेटर सरिता डंगोल महमारीले नेपाली आर्ट बजार खुम्चिएको बताउँछिन् । लामो समय ग्यालरी बन्द हुँदा कलाकारहरूका सिर्जना स्टुडियोमै सीमित भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘दुई वर्षपछि पहिलोपटक प्रदर्शनी गरिरहेका छौँ । तर, कोराना भइरसको त्रास कायमै छ । ग्यालरीमा दर्शक फाट्टफुट्ट आए पनि पेन्टिङ किन्ने मनासाय छैन ।’

प्रदर्शनी राखिएको पेन्टिङ बिक्री नहुँदा कलाकार र ग्यालरी दुवैलाई गाह्रो भइरहेको उनले सुनाइन् । डंगोल भन्छिन्, ‘ग्यालरीलाई मात्रै होइन कलाकारहरूलाई समेत टिक्न गाह्रो छ ।’ यस्तो वेलामा सरकारले समेत नेपाली आर्ट जोगाउने कार्यक्रम नल्याएको उनले बताइन् । 

‘विकल्प आर्ट ग्यालरी’का सञ्चालक सरोज महतोको अनुभव पनि सरिताको जस्तै छ । उनका अनुसार यतिवेला आर्ट बजार सकसपूर्ण ढंगबाट गुज्रिरहेको छ । उनी भन्छन्, ‘महामारीले कलापारखीको चहलपहल कम छ । ग्यालरीमा उपस्थिति न्यून छ । ग्यालरीहरू टिक्नै संघर्ष गरिहेको छ ।’ 

ग्यालरी टिकाउन क्याफे सञ्चालन
नेपाली कला र सिर्जना राज्यको सहयोगविना चलिरहेको महतो बताउँछन् । नेपालजस्तो मुलुकमा आर्ट ग्यालरी मात्रै सञ्चालन गर्न नसकिने उनको अनुभव छ । दुई दशकदेखि ग्यालरी सञ्चालन गर्दै आए पनि आर्थिक अवस्थामा सुधार नभएको उनले सुनाए । ग्यालरी टिकाउनकै लागि भए पनि क्याफे पनि सञ्चालन गर्दै आइरहेका छन् । ‘कफी बेचेको आम्दानीले ग्यालरीको खर्च  धानिरहेको छु,’ महतो भन्छन्, ‘आर्थिक संकट भएर ग्यालरी बन्द गर्न नपरोस् भनेर क्याफे पनि सञ्चालनमा गरेको हुँ । आर्ट बिक्री गर्छु र ग्यालरी सञ्चालन गर्छु भन्नु दिवासपना मात्रै हो ।’ 

ग्यालरी कलाकारले काम देखाउन र पेन्टिङ बिक्री तथा प्रदर्शनी उपयुक्त प्लेटफर्म हो । कलाकार र कलापारखीहरूबीच अन्तक्र्रियामार्फत कलाप्रतिको रुचि बढाउन पनि ग्यालरीकोे भूमिका ठूलो हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘ग्यालरी र प्रदर्शनीले व्यापकता नपाइन्जेल नेपाली कलाको दायरा फराकिलो हुँदैन । यसका लागि राज्यले नेपाली आर्टलाई हेर्नुपर्छ ।’

कम्तीमा दुई लाख पेन्टिङ स्टुडियोमै थन्किए
‘एम क्युब ग्यालरी’का सञ्चालक तथा कलाकार मनीषलाल श्रेष्ठले ग्यालरीमा नियमित प्रदर्शनी नहुँदा सिर्जनाहरू घरैमा थन्किएको बताए । उनी भन्छन्, ‘अनुमान गरौँ, नेपालमा कम्तीमा २० हजार कलाकार पेन्टिङमा आबद्ध छन् । पहिलो लकडाउनमा एकजना बराबर कम्तीमा १० वटा सिर्जना भए पनि दुई लाख पेन्टिङ तयार भएका छन् । त्यो पेन्टिङको प्रदर्शनी कहाँ गर्ने ?’ 

काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरी तुलनात्मक रूपमा बढी बिक्री र ‘भिजिट’ हुने ग्यालरी हो । यहाँ समेत कोरोनाको दोस्रो लहरपछि दुईवटा मात्रै ठूला प्रदर्शनी भएको छ । तर, बिक्री भने सामान्य रहेको छ । ग्यालरीका व्यवस्थापक विनोद अधिकारीका अनुसार नियमति प्रदर्शनी नहुँदा खर्च धान्न मुस्किल भएको छ । उनले महामारीका कारण ६ महिना भाडा तिर्नै गाह्रो भएको बताए । हुन त नेपालका प्रायः आर्ट ग्यालरीले महामारीअघि पनि आर्थिक संकट खेप्दै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘हामी आर्ट प्रमोट गर्न बसेका हौँ । कहिले नाफा हुन्छ कहिले घाटा हुन्छ । तर, नियमित प्रदर्शनी गर्न सके खर्च धान्न सकिन्छ ।’ तर, नेपाली आर्ट क्षेत्र पुरानै लयमा आउन दुई वर्ष लाग्ने उनको अनुमान छ । 

नेपालमा नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, एम क्युब ग्यालरी, क्लासिक आर्ट ग्यालरी, इमेज आर्ट ग्यालरी, तारा गाउँ संग्रहालय, म्युजियम अफ नेपाली आर्ट (मोना)आफ मोना आर्ट, मिथिला आर्ट ग्यालरी र विकल्प आर्ट ग्यालरी सक्रिय छन् । महामारीले बेलामा एम क्युब आर्ट ग्यालरी र सिद्धार्थ आर्ट ग्यालरीमा बाहेक अन्यमा गतिविधि हुन सकेन । कतिपय आर्ट ग्यालरी त महामारीले बन्दसमेत भए ।

सुझावित समाचार