एमसिसी अस्वीकृत गर्न माओवादीले खोज्यो एमालेको साथ, ओलीले अघि सारे तीन सर्त

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।  संसद् भवन बानेश्वरमा भएको छलफलमा प्रचण्डले एमसिसीको विषयमा एमाले र माओवादी एक ठाउँमा उभिनुपर्ने प्रस्ताव गरेका थिए। दुई नेताबीच केही समय एक्लाएक्लै छलफल भएको थियो।

छलफलमा अध्यक्ष प्रचण्डले एमसिसी सदनबाट अस्वीकृत गर्न एमाले र माओवादी एक ठाउँमा उभिनुपर्ने प्रस्ताव गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले बताए। प्रचण्डले एमालेलाई सदनको गतिरोध हटाउन पनि अनुरोध गरेका थिए। 
छलफलमा ओलीले प्रचण्डसँग तीन सर्त अघि सारेको गुरुङले बताए। उनले विगतमा फर्किएरसमेत सर्त अघि राखेका छन्।

ओलीले आफूहरू अहिलेको प्रक्रियामा सहभागी नभएको भन्दै एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्नुपर्ने बताएका थिए। त्यसो नगर्ने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने ओलीको सर्त छ। उनले तत्कालीन नेकपा हुँदाको समयमा प्रचण्डले बनाएको १९ पृष्ठको दस्ताबेज खारेज गर्नसमेत भनेका थिए। उक्त १९ पृष्ठको पत्रलाई ओलीले आरोपपत्र भन्दै आएका छन्।

अहिलेको प्रक्रियामा आफूहरू सहभागी नभएकोले एमसिसीको विषयमा एस वा नो नभन्ने ओलीले बताएका थिए। प्रचण्डले फरक बुझाइहरूबारे छलफल गर्दै एमसिसीमा एक मत गर्ने प्रस्ताव गरेका थिए।

शीर्ष नेताहरूबीच सकारात्मक छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए । ‘नेताहरूबीच सकारात्मक छलफल भएको छ। विगतको समीक्षा गरिएको छ,’ उनले भने, ‘संसद्को गतिरोधलगायतका विषयमा छलफल गरियो। लामो समयपछि योस्तरको संवाद हुनु सकारात्मक छ।’

एमसिसीबारे एमालेले उपयुक्त समयमा धारणा सार्वजनिक गर्ने नेम्वाङले बताए। भेटमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए।
 
 माओवादी नेताहरूसँगको छलफल सकिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। आज दिउँसो पनि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो। 

प्रधानमन्त्री देउवा एमसिसी पारित गर्नुपर्ने अडानमा छन्। एमालेले एमसिसीबारे प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन। बालुवाटारमा आज नै जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि देउवाले भेट गरेका छन्।
 

सुझावित समाचार