भ्लादिमिर पुटिनले २१ फेब्रुअरीमा युक्रेनको डोनबास क्षेत्रका दोनेत्स्क (डिपिआर) र लुहान्स्क जनगणतन्त्र (एलपिआर) को स्वतन्त्रतालाई मान्यता दिनु र यी गणतन्त्रमा ‘शान्तिसेना’ तैनाथ गर्नु अहिलेका ठूला घटनाक्रम हुन् । यसले सात वर्षसम्म रुसले कागजी रूपमा मात्रै मान्दै आएको मिन्स्क सम्झौता (मिन्स्क–२) लाई त्यागेको संकेत दिन्छ । यो मान्यतापछि रुसलाई यी नवराज्यमार्फत युक्रेनमा हस्तक्षेप गर्ने वैधानिक आधार मिलेको छ । रुसी सैन्यदल युक्रेनी सीमामा प्रवेश गरिरहेका छन्, जुन उनीहरूले द्वन्द्वको सुरुवाती चरणमा सकेका थिएनन् ।
मिन्स्क–२ अनुसार युक्रेनको सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै डोनबासलाई स्वायत्तता दिने सम्झौता भएको थियो । डोनबासलाई स्वयत्तता प्रदान गर्न किभ भने मन्जुर भएन, त्यसैगरी डिपिआर र एलपिआरले मिन्स्क–२ लाई साँचो अर्थमा स्विकारेनन् र किभको सम्भावित प्रत्याभूतिमा विश्वास गरेनन् । र, किभले पनि सम्झौता भएको सात वर्षसम्म कुनै प्रत्याभूति दिन सकेन । नतिजा डोनबासका जनताले युक्रेनी सार्वभौमसत्तामा रहनुलाई आफू किभको अधीनस्थ भएको देखे । मिन्स्क–२ सूत्रलाई कसैले स्विकारेनन् । युक्रेनले मिन्स्क–२ सहमति कार्यान्वयन गर्न एक कदम चालेन र अमेरिकाले पनि युक्रेनलाई पहलकदमी लिन सुझाएन । नतिजा मिन्स्क–२ मृतप्रायः भयो । अहिले रुसले डिपिआर र एलपिआरलाई मान्यता दिनुले मिन्स्क–२ घोषित रूपमै मृत भएको छ । मिन्स्क–२ मा फ्रान्स र जर्मनी सकारात्मक देखिन्थे, तर त्यसको कुनै अर्थ रहेन ।
नवराज्यमा रुसी समर्थनको मूल ध्येय युक्रेनको पुनः कब्जा रोक्नु थियो । यो समर्थन डिसेम्बरमा अमेरिकाले युक्रेनमा आफ्ना सेना नपठाउने निर्णयको नतिजाका कारण आएको देखिन्छ । तर, युक्रेन एवं अमेरिकाका अधिकारीले अस्वीकार गरे पनि युक्रेनका डोनबास क्षेत्रमा ठूला बमबारी र भिडन्त भएको अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससिई) का युद्ध मानचित्रले पुष्टि गरेको छ । ओएससिईका दुई युद्ध मानचित्रअनुसार फेब्रुअरीको सुरुवातमा रुसी सीमानजिक दुईतिहाइदेखि तीनचौथाइ क्षेत्रमा बमबारी गरिएको देखाएको छ । फेब्रुअरीमा मात्रै दैनिक ६० बमबारी भएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत साता भएको ‘रुसी वा अलगाववादीको उत्तेजना भ्रमपूर्ण रहेको’ बताएका थिए । उनको टिप्पणीले नवराज्यमा भएका बमबारीलाई इंगित गरेको हुनुपर्छ । अमेरिकी आधिकारिक स्रोतलाई मान्ने हो भने सबै रुसी सीमामा रहेका हातहतियार गोलाबारुद आफैँतिर सोझिएको देखिन्छ । यहाँनेर अमेरिकी प्रशासनले ओएससिईका पर्यवेक्षक र क्यामेरालाई किन बेवास्ता गरिरहेको छ भनेर बताउनुपर्ने हो, तर यो व्याख्या असम्भवप्रायः देखिन्छ । प्रशासनका अधिकारी र कर्पोरेट मिडियाले रुसी कुटिल षड्यन्त्र त देखाइरहेका छन् तर ओएससिईका तथ्यांकलाई देखाउन मानिरहेका छैनन् । यदि तपाईंले बितेका साताका फाइनेन्सियल टाइम्स, वासिंगटन पोस्ट, न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल मात्रै पढ्नुभएको छ भने तपाईंले ओएससिई अस्तित्वमा छ भन्ने पनि थाहा पाउनुहुन्न । यी गम्भीर भनिएका मिडियाले आधा सत्य प्रसारण गरेर मुनाफा आर्जन गरिरहेका छन् ।
जेसुकै उद्देश्य भए पनि गत साताको युक्रेनी आक्रामकता र नतिजामा आएको डिपिआर र एलपिआरको रुसी वैधानिकताले द्वन्द्वलाई नयाँ चरणमा पुर्याएको छ
किभमा शक्तिको नियन्त्रण कोसँग छ भन्ने स्पष्ट छैन, अर्थात् के युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग निर्देशन र नियमन गर्ने गरी सैन्य संस्थामा नियन्त्रण छ ? यसको प्रस्ट जवाफ छैन । यद्यपि जेलेन्स्की कुनै पनि आलोचना सुन्न तयार नभएका स्वयंसेवी सेनासँग व्यवहार मिलाउन बाध्य छन् । त्यसैगरी डोनबास मामिलामा युक्रेनले अमेरिकी सहयोगलाई पछ्याइरहे–नरहेको पनि स्पष्ट छैन । युक्रेन अमेरिकी सहयोगविनै बमबारीका लागि किन उद्यत छ ? यसका सम्भवतः दुई उत्तर छन् । पहिलो, कूटनीतिक र आर्थिक कारण रुसले कुनै हस्तक्षेप नगर्ला भन्ने बुझाइ हुन सक्छ, तर २१ फेब्रुअरीको रुसी घोषणाले यस्तो बुझाइलाई अर्थहीन बनाइदिएको देखिन्छ ।
अर्को बढी सम्भावित कारण भनेको अहिलेको कार्यनीतिक हारले भविष्यमा रणनीतिक जित हुन सक्छ भन्ने देखिन्छ । अर्थात् रुसी आक्रामकता बढ्दै जाँदा पश्चिमा जगत्बाट सैन्य सहयोग तीव्र हुने देखिन्छ । जेसुकै उद्देश्य भए पनि गत साताको युक्रेनी आक्रामकता र नतिजामा आएको डिपिआर र एलपिआरको रुसी वैधानिकताले द्वन्द्वलाई नयाँ चरणमा पु¥याएको छ । नवराज्यमा सैन्य द्वन्द्व बढ्ने देखिन्छ अर्थात् रुसी हवाई बमबारीको उच्च सम्भावना देखिन्छ । अमेरिका र युरोपको सम्भावित बहिष्करणसँगै रुस लगभग सबै प्रतिबन्धमा पर्ने देखिन्छ । हाम्रो उद्देश्य नै रुसलाई उपलब्ध सबै सेवाबाट वञ्चित गराएर नियन्त्रण गर्नु रहेको छ । उसो त पुटिनको क्रोध राज्यले नियन्त्रण गर्छ र उनी झुक्छन् पनि, तर अहिले उनी निकै क्रुद्ध छन् ।
युक्रेनको बमबारीअगाडि रुसले युक्रेनलाई रक्तपात मच्चाउन नदिने बताएको छ । युक्रेनमा हताहती कम भए पनि अमेरिका र पश्चिमले जनतामाथि अत्याचार लाद्ने शासकलाई समर्थन गर्न छाड्नेछैनन् । पुटिनले युक्रेनमा ‘नरसंहार’ भएको भन्नु अतिशयोक्ति हो, तर याद राख्नुपर्ने विषय के हो भने सर्बियामा अमेरिकी हस्तक्षेप सन् १९९९ मा ४५ जना कोसोभो अलगाववादी मारिँदा भएको थियो ।
क्रिमियाको र अहिलेका दुई नवराज्यमा कुल ६० लाख मानिस बसोवास गर्छन् र यहाँका एकतिहाइदेखि आधा जनसंख्या विस्थापन हुनु पश्चिमका लागि ठूलो विषय होइन, तर यस क्षेत्रका मानिसका लागि ठूलो क्षति हो । वास्तवमा क्रिमिया र अहिलेका नवराज्यका मानिस किभको नियन्त्रण मन पराउँदैनन् । विडम्बना विश्व व्यवस्था यिनको आफ्नै मुलुक छान्ने अधिकारको वञ्चितीकरणमा अडिएको छ ।
द नेसनल इन्टरेस्टबाट