गठबन्धन जोगाउन दौडधुप

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

‘प्रतिष्ठा’ जोगिने गरी एमसिसी पास गर्ने मध्यमार्गी विकल्पको खोजीमा नेताहरू, यसो हुँदा गठबन्धनलाई निर्वाचनसम्मै लैजान सकिने विश्वास

एमसिसीमा साझा धारणा बनाउने कोसिस

सत्तागठबन्धनको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । प्रचण्डसँगको भेटवार्तामा उनले गठबन्धनमा असर नपुग्ने गरी निर्णय लिन र एमसिसीलाई सकारात्मक ढंगले टुंग्याउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले गठबन्धन बच्ने आश्वासन दिए । पौडेलले जसपा अध्यक्ष यादवसँग पनि एमसिसी र देशको परिस्थितिबारे छलफल भएको बताए । यादवले गठबन्धनको विषयमा आफू सकारात्मक रहेको, तर एमसिसीको विषयमा छलफल गरेर निर्णय लिने जवाफ पौडेललाई दिएका छन् । 

...                                               ...

संसदमा  पेस भएको एमसिसीलाई प्रक्रियामार्फत टुंग्याउँदै सत्तागठबन्धनलाई सुरक्षित बनाउन शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ । आ–आफ्नो अडानमा रहेका गठबन्धनका दलहरूको ‘प्रतिष्ठा’ जोगिने गरी एमसिसी पास गर्ने मध्यमार्गी विकल्पको खोजीमा नेताहरू छन् । यसो हुँदा गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजान सकिने उनीहरूको विश्वास छ । यद्यपि, मतदानपूर्वसम्म हुने राजनीतिक घटनाक्रमले गठबन्धनको भविष्य तय गर्नेछ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा छ भने माओवादी, एकीकृत समाजवादी र जसपा परिमार्जनविना पास गर्न नसकिने अडानमा छन् । प्रमुख प्रतिपक्षी एमाले एमसिसीबारे अझै मौन छ । जसका कारण सदनबाट अनुमोदन हुने–नहुने अझै अनिश्चित छ । सँगसँगै गठबन्धनको भविष्य पनि अन्योलमा छ । एमसिसी प्रस्तावमाथि छलफलका लागि १२ फागुनमा संसद् बैठक बस्दै छ । 

सत्तागठबन्धनको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा पौडेलले गठबन्धनमा असर नपुग्ने गरी निर्णय लिन र एमसिसीलाई सकारात्मक ढंगले टुंग्याउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले गठबन्धन बच्ने आश्वासन दिएका छन् । ‘उहाँले गठबन्धन बचाउनुप¥यो, एमसिसीको पनि काम हुनुप¥यो भन्नुभयो,’ प्रचण्डले भने, ‘मैले गठबन्धन बच्छ र एमसिसी पनि प्रक्रियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ ।’ एमसिसी संसद्मा टेबुल हुँदासम्म दोहोरो भूमिका खेलेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ ।

नेताहरूको संवाद रहेका पौडेलले दलहरूबीच समान धारणा बने एमसिसी पनि सहज हुने बताए । प्रचण्डसँगको भेटपछि उनले गठबन्धन नटुट्ने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ– गठबन्धन टुट्दैन, एमसिसी पनि टुंगिन्छ,’ पौडेलले भने ।

जसपा अध्यक्ष यादवसँग पनि एमसिसी र देशको परिस्थितिबारे छलफल भएको नेता पौडेलले बताए । ‘एमसिसीबारे सैद्धान्तिक रूपमा हाम्रोबीचमा मतभेद केही देखिएन, तर केही प्राविधिक विषय पनि छन्,’ उनले भने । यादवले गठबन्धनको विषयमा आफू सकारात्मक रहेको, तर एमसिसीको विषयमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । जसपाभित्र पहिलेदेखि नै एमसिसीका विषयमा एकमत छैन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत केही सांसद एमसिसीको पक्षमा खुलेरै लागेका छन् । 

माओवादी, एकीकृत समाजवादी र जसपाको जोड एमसिसीबारे सकभर राष्ट्रिय सहमतिको खोजी गर्ने, परिमार्जन गर्ने, नभए एमसिसी सुरक्षा रणनीतिको अंग होइन भन्ने अमेरिकाबाट स्पष्ट पत्राचार, संसदीय समितिमार्फत अध्ययन, सदनमा व्यापक छलफल र त्यसपछि मात्रै संसद्मा मतदानमा जानुपर्ने छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति अमेरिकाले दिएको १६ फागुनको समयसीमाभित्रै एमसिसी अनुमोदन गर्नेछ । 

गठबन्धनकै दलहरू अझै एक–अर्कामाथि दबाब बनाउने रणनीतिमा पनि छन् । माओवादीले संसद्मा टेबुल भएको एमसिसी प्रस्तावको विरोध गरेको छ भने प्रक्रिया सुरु भए विपक्षमा मतदान गर्ने अडान राख्दै आएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने विषयमा तत्काल कुनै पनि निर्णय नगर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले भने एमसिसी निर्णयार्थ संसद्मा पेस हुने वेलासम्म सत्तारुढ गठबन्धनका दलहरूले लिने निर्णयका आधारमा मात्रै गठबन्धनको भविष्य तय हुने बताएको छ । 

एकीकृत समाजवादीको विश्लेषण–एमसिसी फेल भए पनि गठबन्धन सुरक्षित

एमसिसी संसदमा पेस गर्न दिएर पार्टी पक्षमा रहेको गलत सन्देश गएको नेता खनालको गुनासो

यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीले सदनमा प्रस्तुत प्रस्ताव फेल हुने अवस्थामा पनि सत्तागठबन्धन सुरक्षित रहने विश्लेषण गरेको छ । एमसिसी पास–फेल जे भए पनि गठबन्धनलाई निरन्तरता दिन सकिने निष्कर्ष निकाल्दै उसले यथास्थितिमा प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ । 

बेदुराम भुसाल, महासचिव

मतदान शब्द किन प्रयोग गर्ने ? मतदान प्रक्रियामा जाने भयो भने न निर्णय गर्ने हो । प्रक्रिया कसरी जान्छ भन्ने अझै टुंगिएको छैन । त्यसैले तत्काल संसदमा प्रस्तुत हुँदा एमसिसीको विरोध गरेर विपक्षमा बोल्ने निर्णय गरिएको हो ।

एमसिसी आइतबार सदनमा प्रस्ताव भएपछि पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन सोमबार बसेको सचिवालय बैठकले पक्ष कि विपक्षमा मत दिनेबारे भने स्पष्ट खुलाएको छैन । एकीकृत समाजवादीभित्र ‘नो भोट’को विकल्पमा पनि छलफल भइरहेको छ । गठबन्धनभित्र अझै साझा धारणा प्रस्ट भइनसकेको मतदानका विषयमा प्रस्ट हुन हतारो गर्नुपर्ने स्थिति नरहेको पार्टीको विश्लेषण छ । ‘८ फागुनमा प्रतिनिधिसभामा पेस एमसिसी प्रस्तावको विपक्षमा रहने’ सचिवालय बैठकको निर्णयबारे जानकारी दिन जारी विज्ञप्तिमा छ । 

महासचिव बेदुराम भुसालले एमसिसी मतदान प्रक्रियामा जान्छ कि जाँदैन भन्ने विषय नै टुंगो नलागिसकेकाले अहिलेका लागि सदनमा प्रस्तावको विपक्षमा बोल्ने मात्र निर्णय गरिएको प्रस्ट्याए । ‘मतदान शब्द किन प्रयोग गर्ने ? मतदान प्रक्रियामा जाने भयो भने न निर्णय गर्ने हो । प्रक्रिया कसरी जान्छ भन्ने अझै टुंगिएको छैन । त्यसैले तत्काल संसद्मा प्रस्तुत हुँदा एमसिसीको विरोध गरेर विपक्षमा बोल्ने निर्णय गरिएको हो,’ भुसालले भने ।

एमसिसी पास वा फेल हुने कुराले गठबन्धनमा कुनै असर नपर्ने दाबी गर्दै उनले फेल भएकै अवस्थामा पनि सरकार नढल्ने पार्टीको निष्कर्ष रहेको सुनाए । ‘प्रस्ताव पास वा फेल हुँदा सरकार ढल्ने या नढल्ने भन्ने हुँदैन । खासमा सरकारको नीति तथा कार्यक्रम र बजेट निर्णयार्थ प्रस्तुत हुँदाचाहिँ गठबन्धनमा रहेको दलले पक्षमा उभिनुपर्छ र मतदान पनि गर्नुपर्छ । तर, अरू प्रस्तावमा त गठबन्धनको कुनै पनि दलले फरक मत राख्न सक्छ, अन्त पनि यो अभ्यास भएकै छ,’ भुसालले भने, ‘त्यसैले एमसिसी पास नहुँदा अहिलेको गठबन्धन रहँदैन भन्ने बुझाइ गलत छ, यसले कुनै असर पार्दैन । यद्यपि, त्यही विषयमा कांग्रेसले निहुँ खोजे बेग्लै विषय हो । त्यतिवेला मात्र गठबन्धन भत्किन पनि सक्छ ।’ 

बैठकमा सम्मानित नेता झलनाथ खनालसहित केही नेताले भने स्थायी कमिटीको निर्णयविपरीत संसद्मा टेबुल गर्न दिएर पार्टी पक्षमा उभिएको गलत सन्देश गएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनीहरूले पार्टीले प्रस्टसँग विपक्षमा मतदान गर्ने निर्णय गरेर जानुपर्ने धारणा पनि राखेका थिए । बैठकले एमसिसीको विरोध गर्दै सडकमा उत्रिएकामाथि गरिएको ज्यादतीपूर्ण दमनको भत्र्सना गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको समुचित प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ । 

कांग्रेस प्रवक्ता महत भन्छन्–एमसिसीको निर्णयमा गठबन्धनको परीक्षण हुन्छ

डा. प्रकाशशरण महत, कांग्रेस प्रवक्ता

गठबन्धनका दलहरूले एमसिसी टेबुल गर्न जसरी सहयोग गर्नुभयो, त्यसैगरी निर्णयमा सहयोग गर्नुहुनेछ भन्ने लागेको छ । तर, उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ र सहयोग गर्नुहुन्छ भन्ने १२ फागुनमा थाहा हुन्छ । उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ त्यस आधारमा हामी गठबन्धनबारे दृष्टिकोण बनाउनेछौँ । अहिले नै अनुमान गर्न सकिँदैन । 

एमसिसीविरुद्ध सर्वोच्चमा रिट पेस
एमसिसीविरुद्ध सर्वोच्चमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार पेस गरेको रिट दर्ता भने भइसकेको छैन । रिटमा एमसिसी पारित गर्ने प्रक्रिया संसद्मा चल्न नदिन प्रतिषेधको आदेश माग गरिएको छ । त्यस्तै, एमसिसीले संवैधानिक सर्वोच्चता र न्यायालयको क्षेत्राधिकारसमेतमा हस्तक्षेप गरेको हुँदा यसलाई मान्यता दिन र कार्यान्वयन गर्न नमिल्ने परमादेशको आदेश पनि रिटमा माग गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ । 

एमाले अध्यक्ष केपी ओलीको आरोप–माओवादी र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाए

एमाले अध्यक्ष केपी ओलीले एमसिसीमा सत्तारुढ माओवादी र एकीकृत समाजवादीको भूमिकामाथि प्रश्न उठाएका छन् । एमाले आफैँ पनि अहिलेसम्म एमसिसीबारे मौन छ ।एमसिसीलाई सदनमा टेबुल गराउन सहयोग गर्ने, तर सांसद र कार्यकर्तालाई विरोधमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै ओलीले दुवै पार्टीको आलोचना गरे ।

‘एमसिसी पास गर्ने, टेबुल गर्न षड्यन्त्र गर्ने, आफू (प्रचण्ड र माधव) चाहिँ मूर्तिझैँ बस्ने, अर्को पार्टीका (एमाले सांसद)लाई नारा लगाउन लगाउने, यताका (सांसद) लाई उठ भन्ने, उताका (मन्त्री) लाई बस्न लगाउने, एकाथरीलाई सडकमा जाऊ भन्ने, एकाथरीलाई सदनमा आऊ भन्ने,’ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि प्रहार गरे । 

एमसिसीको विरोधमा उत्रिएका आन्दोलनकारीले प्रहरीमाथि ज्यादती गरेको विषयमा आफूले गृहमन्त्री बालकृष्ण खाणसँग टेलिफोन गरेको पनि ओलीले बताए । ‘कुटाइ खाँदै प्रहरी भागेको छ । २५ जना मान्छे ढुंगा हान्छन्, डेढ सय प्रहरी भाग्दै छन्, तर आदेश केही हुँदैन,’ ओलीले भने, ‘गृहमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको थियो, मैले सोधेँ– ढुंगा हान्ने मात्रै आदेश थियो कि के थियो ? प्रहरी किन कुटिए ? किन घाइते भए ?’  

See More On

सुझावित समाचार