म्यान अफ दी म्याच आरिफ सेखले ३७ बलमा ३८ रन बनाउनुका साथै कमल ऐरीले १५ रन खर्चेर सर्वाधिक तीन विकेट लिँदा टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालसँग ओमान १६ रनले पराजित
बलरहरूले उत्कृष्ट प्रदर्शन गरेको खेलमा नेपालले शुक्रबार आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराएको छ । समूह बीमा नेपालले दुई अंक बटुल्यो । यस समूहमा क्यानडा उत्कृष्ट रनरेटका साथ शीर्ष स्थानमा छ । गत साता नेपालले चारदेशीय टी–२० सिरिजमा ओमानलाई ६ विकेटले हराएको थियो । एक साताभित्र नेपालले ओमानमाथि दोस्रो जित निकालेको हो ।
ओमानको अल इमेरात मैदानमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा ओमानका ब्याट्सम्यानहरूले नेपाली बलरको घातक बलिङ आक्रमण सामना गर्न नसक्दा १७ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र जोड्यो । नेपालले १८ बलअघि नै जित प्राप्त गर्यो ।
उत्कृष्ट बलिङ प्रदर्शन
नेपालले ग्लोबल टी–२० छनोटमा जितबाट सुरु गर्दा बलरकै बढी योगदान रह्यो । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि पाँचजना बलरले विकेट लिँदा ओमानले मध्यम योगफलसमेत पछ्याउन सकेन । नेपालका कमल ऐरी सर्वाधिक सफल बलर सिद्ध भए । उनले तीन ओभरमा १५ रन खर्चेर तीन विकेट हात पारे । यसैगरी कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । अविनाश बोहराले ११ रन खर्चेर एक विकेट लिए । कमलले ओमानको मध्य तथा पुछारको ब्याटिङ कमजोर बनाए । अलराउन्डर प्रदर्शन गरेका दीपेन्द्रसिंहले ओमानको मध्यक्रमका मुख्य दुई ब्याट्सम्यानलाई क्रिजबाट हटाए ।
ओमानका लागि नसिम मात्र जमे
नेपालको कसिलो तथा अनुशासित बलिङ आक्रमणमा ओमानका आठौँ क्रमका ब्याट्सम्यान नसिम खुसीले डटेर टिके । उनले आफ्नो इनिङ्समा १८ बलमा दुई छक्का र एक चौका प्रहार गरी सर्वाधिक २४ रन जोडे । नसिमले नेपालका कप्तान सन्दीपको एकै ओभरमा दुई छक्का प्रहार गरेका थिए । नसिमलाई अन्य कुनै पनि ब्याट्सम्यानले सहयोग गर्न सकेनन् । नसिम आउट हुँदा ओमान १२.५ ओभरमा ६६–७ को स्थितिमा थियो । नसिमले फयाज बटसँग छैटौँ विकेटका लागि ३१ रनको साझदोरी गरेका थिए । ओमानको फितलो ब्याटिङ इनिङ्समा यही नै सर्वाधिक साझेदारी थियो ।
१० ब्याट्सम्यान दोहारो रनविहीन
इनिङ्सको तेस्रो बलमै ओमानले विकेट गुमाएको थियो । कश्यप प्रजापति शून्य रनमै क्याचआउट भए । कमलको ओभरमा कश्यप दीपेन्द्रसिंहबाट क्याचआउट भएका हुन् । सुरुदेखि नै सम्हालिन नसकेको ओमानले पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ३३ रन मात्र जोडेको थियो । कप्तान जसन मक्सुद गुमाउँदा ओमानका आधा ब्याट्सम्यान पेभेलियन फर्केका थिए । इनिङ्सको कुनै पनि समयमा छैटौँबाहेक अन्य विकेटका लागि सुदृढ साझेदारी नहुनु नै ओमानको हार कारण बन्यो । सो इनिङ्समा दशजना ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् ।
कमजोर ओपनिङ
नेपालले ओमान भ्रमणमा राम्रो ब्याटिङ गर्न सकिरहेको छैन । चारदेशीय टी–२० सिरिजमा देखिएको कमजोर ब्याटिङ प्रदर्शन टी–२० विश्वकप ग्लोबल छनोटमा समेत निरन्तरता पायो । नेपालले ओपनरद्वय कुशल भुर्तेल (५) र आसिफ सेख (४) लाई केवल १२ रनमा गुमाएको थियो । नेपालले इनिङ्सको छैटौँ बलमै विकेट गुमायो । विलाल खानले आसिफर्ला बटद्वारा क्याच आउट पारे । त्यसपछि २.४ ओभरमा नेपालले कुशलको विकेट गुमाएको थियो । दुवै ब्याट्सम्यानले समान एक चौका प्रहार गरे ।
मध्यक्रमले सम्हालिएको ब्याटिङ
सुरुवाती दुई विकेट सस्तै रनमा पतन भएको नेपालको ब्याटिङ इनिङ्समा मध्यक्रमका ब्याट्सम्यानले सम्हाले । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि २१ रनको साझेदारी गरे । फर्ममा नरहेका तर मुख्य प्रशिक्षक पुबुदु दासानायकेका विश्वास जितेका मल्लले ओमानविरुद्धको खेलमा १५ बलमा १५ रन मात्र बटुले । उनले आफ्नो इनिङ्समा दुई चौका प्रहार गरे । उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंह ८.३ ओभरमा आउट भए । जासन मक्सुदको ओभरमा दीपेन्द्रसिंह स्टम्पिङ भए । उनले १८ बलमा एक चौका प्रहार गरी ११ रन बनाए ।
त्यसपछि म्यान अफ दी म्याच आरिफ सेखले लोकेश बमसँग पाँचौँ विकेटका लागि २७ रन जोड्दै नेपाललाई ८.३ ओभरमा ६७–५ को अवस्थामा राखे । लोकेशले १७ बलमा एक छक्काको सहयोगमा १६ रन बनाए । आरिफले कप्तान सन्दीपसँग आठौँ विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई १९.६ ओभरमा ११७–८ को सम्मानजनक योगफलमा पुर्याए ।
आरिफले ३७ बलमा दुई चौकाको सहयोगमा सर्वाधिक ३८ रन बनाए । नेपालको धर्मराएको ब्याटिङ इनिङ्स उकासेका आरिफ नै खेलमा म्यान अफ दी म्याच भए । कप्तान सन्दीपले केवल सात बलमा समान एक चौका र छक्का प्रहार गरी १६ रन बटुले । ओमानको उत्कृष्ट बलिङ स्पेलमा खवार अलीलेचार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए । विलालले तीन ओभरमा २५ रन दिँदै दुई विकेट हात पारे । फयाज बट र मक्सुदले समान एक विकेट लिए ।
विकेट राम्रो थिएन : सन्दीप लामिछाने, कप्तान, नेपाल
ओमानमाथि सहज जित निकालेपछि नेपालका कप्तान सन्दीपले विकेट त्यति राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘यो मैदानको विकेट त्यति राम्रो थिएन, यहाँ एक सय १७ भन्दा माथि रन बनाउँदा पनि सहजै योगफल रक्षा सकिने विश्वास थियो,’ सन्दीपले अन्तर्राष्ट्रिय मिडियासँग भने, ‘हामीले एक सय १७ रन बनाउन जति गाह्रो भएको थियो, त्यति नै ओमानलाई पनि लक्ष्य पछ्याउँदा समस्या आउने अनुमान थियो ।’
ओमानभन्दा नेपालका बलर राम्रा भएका कारण नै लक्ष्य रक्षा गर्नप्रति आफू विश्वस्त भएको उनको भनाइ छ । ‘हामीसँग ओमानभन्दा उत्कृष्ट बलर छन्, यस कारण पनि जित सम्भव भएको हो, आजको जितको सबै श्रय बलरलाई नै जान्छ,’ बलरको प्रशंसा गर्दै उनले भने, ‘नेपालका सबै बलरले हिम्मत हारेनन् ।’
सन्दीपले मध्यक्रमका ब्याट्सम्यान आरिफको ब्याटिङ प्रशंसा गरेका छन् । ‘यो खेलमा आरिफले निकै उत्कृष्ट प्रदर्शन गरे, मध्यक्रमका एउटा आधार बन्यो,’ सन्दीपले भने, ‘नेपाली टोलीले अझै धेरै पक्षमा सुधार गर्नुपर्छ ।’ सन्दीपले विशेष गरी कमजोर ब्याटिङ पक्ष नै सुधार गर्नुपर्ने पक्ष औँल्याएका छन् । ‘ब्याटिङमा अझै सुधार गर्नुपर्छ, ब्याटिङमा जाँदा रन बनाए टोलीलाई फाइदा हुन्छ भनेर नै सुरुदेखि नै हिट गरेको हुँ,’ उनले भने ।
यद्यपि सिरिजमा जितबाट सुरुवात गरे पनि नेपालले आफ्नो स्तरअनुसार प्रदर्शन गरेको उनको भनाइ । ‘यो जितबाट त्यति खुसी हुनुपर्ने अवस्था छैन, नेपालले योभन्दा पनि अझै राम्रो गर्न सक्थयो,’ सन्दीपले भने, ‘खेल एक रन वा सय रन नै किन नहोस् जित भनेको जित नै हुन्छ ।’