काठमाडौं महानगरपालिका– १६ नयाँ बजार मेडिकल चोकबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् ।
राजधानीको नयाँबजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका– १२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदसम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफ अली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरूसहित दुईजनालाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् ।