राष्ट्रिय हितविपरीतका कुरा नसच्याई एमसिसी पारित गर्न मिल्दैन : खनाल

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण
राष्ट्रिय हितविपरीतका कुरा नसच्याई एमसिसी पारित गर्न मिल्दैन : खनाल

फाइल फोटो ।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसिसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्झौतामा राष्ट्रिय हितविपरितका गम्भीर कुराहरू रहेकाले त्यसलाई बल प्रयोग गरेर पास गर्न नमिल्ने बताए।

नेपाली जनतालाई गुमराहमा राखेर सो सम्झौता गरिएको भन्दै उनले संशोधनबिना पारित हुन नदिने आफ्नो पार्टीको अडान दोहोर्याए। उनले यथास्थितिमा एमसिसी संसदमा टेबुल गर्न नदिन संसद्, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारेका छन्।

‘नेपालको हितलाई सर्वोपरि राखेर यो सम्झौता सुरुमै भएन। नेपाली जनतालाई थाहा नै नदिईकन, राम्ररी अध्ययन नै नगरीकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझीकन र त्यसका दस्ताबेजहरू राम्रोसँग अध्ययनसमेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको हो। यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हितविपरितका कुराहरु छन्। त्यो कुरा नसच्चिकन र ती कुराहरुमा सुधार नभईकन एमसीसी पास हुन सक्दैन।

कतिपय कुराहरु मिल्दैनन्। त्यसमा जब्बरजस्ती ठेल्न मिल्दैन। असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ? हुँदैन। यसको विरोध सरकारमा पनि हुन्छ, सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ,’ नेता खनालले भने। सम्मानित नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए।
 

सुझावित समाचार