करिब २ खर्ब लागतका ६ सिँचाइ आयोजनाको प्रगति सुस्त : तीन दशक पुराना परियोजना पनि अझै सकिएनन्

राष्ट्रिय गौरवका यस्ता आयोजना सम्पन्न भएपछि थप तीन लाख २३ हजार हेक्टरमा सिँचाइ पुग्छ

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण
करिब २ खर्ब लागतका ६ सिँचाइ आयोजनाको प्रगति सुस्त : तीन दशक पुराना परियोजना पनि अझै सकिएनन्

भेरी–बबई डाइभर्सन

सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवअन्तर्गत रहेका सिँचाइ अयोजना सम्पन्न हुँदा देशभर तीन लाख २३ हजार पाँच सय ८७ हेक्टर जमिनमा सिँचाइ पुग्छ । तर तीन दशकसम्म पनि निर्माण सम्पन्न हुन सकेन । करिब दुई खर्ब लागतका परियोजना निर्माण सुस्त देखिएको छ । सरकारले गौरवका रूपमा घोषणा गरेका ६ वटामध्ये महाकाली सिँचाइ आयोजनाले ३३ हजार पाँच सय २० हेक्टर जमिन सिँचाइ गर्नेछ ।

त्यस्तै, बबई सिँचाइ आयोजनाले ३६ हजार, सिक्टा सिँचाइ आयोजनाले ४२ हजार सात सय ६६ हेक्टर र रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत ३८ हजार तीन सय हेक्टर जमिन सिँचाइ हुनेछ । त्यसबाहेक भेरी बबई डाइभर्सन बहुउद्देश्यी आयोजनाले ५१ हजार र सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सबैभन्दा धेरै एक लाख २२ हजार हेक्टरमा सिँचाइ हुनेछ । सुनकोसी मरिन डाइभर्सन आयोजनामा पहिलो चरणका रूपमा बागमती सिँचाइ आयोजनाअन्तर्गत ४५ हजार हेक्टरमा सिँचाइ भइसकेको छ । अब बन्ने दोस्रो चरणअन्तर्गत मधेस प्रदेशको थप ७७ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । यी ६ वटा परियोजनामा सरकारले कुल १ खर्ब ८९ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्दै छ ।

१. रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, कैलाली
आर्थिक वर्ष ०६७/६८ देखि औपचारिक रूपमा निर्माण थालिएको यो आयोजनाको भौतिक प्रगति ५४ दशमलव ५५ प्रतिशत र वित्तीय प्रगति ५४ दशमलव २५ प्रतिशत रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । २७ अर्ब ७० करोड रुपैयाँ अनुमानित लागत भएको आयोजना आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न हुने उल्लेख छ । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल ६८ करोड ५२ लाख रुपैयाँ खर्च गर्नुपर्नेमा २२ करोड ३८ लाख रुपैयाँमा मात्र खर्च गरेको छ । यसअनुसार पछिल्लो तीन महिनामा वित्तीय प्रगति ३२ दशमलव ६६ प्रतिशत मात्र छ भने भौतिक प्रगति ५५ दशमलव ८३ प्रतिशत रहेको छ । 

आयोजनाले केही महत्वपूर्ण काम सम्पन्न गरे पनि केही समस्या पनि भोगिरहेको छ । आयोजनाले अहिले विद्युत् प्रसारण लाइन (पावर हाउसदेखि लम्की सबस्टेसनसम्म)मा पर्ने १५ वटा रूखको कटान स्वीकृति अझै प्राप्त गर्न बाँकी छ । वन मन्त्रालयबाट रूख कट्टान गर्न स्वीकृति प्राप्त गर्र्ने प्रक्रियामा रहेको आयोजनाका अधिकारीहरूको भनाइ छ । त्यस्तै, मूल नहरमा स्थानीय व्यक्तिहरूले ‘राइट अफ वे’मा जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गरेका छन् । 

२.बबई सिँचाइआयोजना, बर्दिया 
कुल १८ अर्ब ९६ करोड ३० लाख लागत रहेको यो आयोजना पुरानोमध्येमा एक हो । आव ०४५÷४६ सालमा सुरु भएको आयोजना आर्थिक वर्ष ०८२÷८३ मा मात्रै सम्पन्न हुने लक्ष्य निर्धारण गरिएको छ । अहिलेसम्म यो आयोजनाको भौतिक प्रगति ५७ दशमलव ३७ प्रतिशत मात्र छ भने वित्तीय प्रगति ५३ दशमलव ६९ प्रतिशत भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रामकृष्ण घोरासैनीले जानकारी दिए । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा यसको खर्च सन्तोषजनक देखिएको छ । यो अवधिमा कुल २१ करोड ८८ लाख खर्च गर्ने गरी बजेट विनियोजन गरिएकोमा २१ करोड २४ लाख खर्च भएको छ । यो कुल खर्चको ९७ प्रतिशत हो । भौतिक प्रगति भने ८० प्रतिशत मात्र छ । 

आयोजनाले विभिन्न समस्या पनि भोगिरहेको छ । हरेक वर्ष सात महिना नहरमा पानी सञ्चालन गर्नुपर्ने भएकाले बाँकी पाँच महिनामा मात्र नहर निर्माण कार्य गर्ने गरेको छ । यसले वार्षिक प्रगति लक्ष्यअनुसार गर्न गाह्रो भइरहेको उल्लेख गरेको छ । जग्गा प्राप्तिमा सामाजिक तथा प्रक्रियागत जटिलता छन् भने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र आयोजना परेकाले मानव, मेसिनरी, सामग्री ढुवानी र आवागमनमा अवरोधात्मक बन्देज रहेको छ । 
 
३.भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुर्खेत
कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ रहेको आयोजनाको थालनी आर्थिक वर्ष ०६८/६९ देखि भएको हो । संशोधित कार्यातालिकाअनुसार आगामी आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गर्ने योजना छ । आयोजनाको अहिलेसम्म ३९ दशमलव ४ प्रतिशत वित्तीय प्रगति भएको छ भने साढे ५१ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको दोस्रो त्रैमासिकमा भौतिक प्रगति ८० दशमलव २१ प्रतिशत भएको छ । त्यस्तै, वित्तीय प्रगति ४२ दशमलव ३० प्रतिशत मात्र भएको छ । दोस्रो त्रैमासिकका लागि ७३ करोड ३६ लाख ६३ हजार बजेट विनियोजन गरिएकोमा ३१ करोड तीन लाख ५६ हजार रुपैयाँ मात्र खर्च भएको सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए ।   

यस आयोजनाका समस्याहरूमा ठूला यन्त्र, उपकरणको प्रयोग गर्नुपर्ने हुँदा त्यसको व्यवस्थापन तथा पैठारीमा समय लाग्ने गरेको छ । वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माणसम्बन्धी कार्यहरू गर्दा प्रक्रियागत जटिलता रहेको छ । राष्ट्रिय गौरवका आयोजनामा स्थानीयहरूको धेरै महत्वाकांक्षी अपेक्षा रहेको र त्यसैअनुरूपका विभिन्न किसिमका योजनाहरूको माग एवं अवरोध हुने गरेको छ । 

४.सिक्टा सिँचाइ आयोजना, बाँके
२५ अर्ब २ करोड लागत अनुमान गरिएको राष्ट्रिय गौरवको यो आयोजना आर्थिक वर्ष ०७७/७८ मा नै सम्पन्न हुनुपर्ने थियो । तर, प्रस्तावित नयाँ गुरुयोजनाअनुसार समयावधि वृद्धि गरेर ०८५/८६ पुर्याइएको छ । आयोजनाको अहिलेसम्म कुल भौतिक प्रगति ६८ दशमलव ५७ प्रतिशत छ भने वित्तीय प्रगति ७२ दशमलव १० प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको प्रगति भने धेरै न्यून छ । यो अवधिमा कुल ८८ करोड ७२ लाख खर्च गर्नुपर्नेमा २४ करोड १९ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो लक्ष्यको २७ दशमलव २७ प्रतिशत मात्र हो । भौतिक प्रगति भने ३२ प्रतिशत भएको छ । 

यस आयोजनामा पनि समस्यारहित भने छैन । आयोजनामा जग्गा अधिग्रहण, नहर अतिक्रमण, डुन्डुवा शाखा नहर प्रणालीको ठेक्का रद्द भई अहिले मध्यस्थतामा रहेकाले काम अघि बढ्न सकेको छैन । ठेक्काहरू समयमा सम्पन्न हुन सकेका छैनन् । यसो हुनुमा कोभिड पनि एउटा कारण रहेको आयोजनाले उल्लेख गरेको छ । राष्ट्रिय निकुञ्जभित्र कार्य गर्नुपर्दा निर्माण सामग्री र वन्यजन्तुको समस्या हुने गरेको छ । 

५.सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुली
आगामी साढे दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सुनकोसी मरिनको अहिलेसम्म कुल भौतिक प्रगति ४ दशमलव ९ प्रतिशत छ । त्यस्तै, यो आयोजना आव ०७३/७४ मा थालिएको हो । पछिल्लो तीन महिनामा एक अर्ब १९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ७८ करोड ३५ लाख रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ । यो लक्ष्यको ६५ दशमलव ४७ प्रतिशत हो । भौतिक प्रगति भने ६६ प्रतिशत छ । यस आयोजनामा पनि परामर्शदाता नियुक्ति ढिलाइ भइरहेको छ भने आयोजनाको आवश्यक निर्माण सामग्री कहाँबाट ल्याउने भन्ने निक्र्योल हुन सकेको छैन । त्यस्तै, दरबन्दीअनुरूप कर्मचारीको अभाव रहेको छ । 

६.महाकाली सिँचाइ आयोजना, कञ्चनपुर
यो आयोजना थालनी भएको करिब १६ वर्षपछि आयोजनाको १४ प्रतिशत भौतिक र वित्तीय  प्रगति छ । कुल ३५ अर्ब रुपैयाँ लागत रहेको आयोजना अझै नौ वर्षपछि सम्पन्न गर्ने नयाँ कार्यतालिका छ । आयोजना आर्थिक वर्ष ०६३÷६४ मा थालनी गरिएको हो । चालू आवको दोस्रो त्रैमासमा आयोजनाको वित्तीय प्रगति साढे ५० प्रतिशत देखिएको छ । कुल ४१ करोड ९५ लाख रुपैयाँ खर्च गर्नुपर्नेमा २१ करोड १९ लाख रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ । भौतिक प्रगति भने ८७ प्रतिशत रहेको आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।  

यस आयोजनाका मुख्य समस्या भने नहर निर्माणका लागि आवश्यक नहर रेखांकनभित्र परेका विभिन्न प्रकृतिका जग्गा (निकुञ्ज वन क्षेत्र, सामुदायिक वन क्षेत्र र जनताको भोगचलनमा रहेको ऐलानी जग्गा) प्राप्त गर्न कठिनाइ भइरहेको जानकारी दिएको छ । नदीजन्य पदार्थको अनियन्त्रित किसिमबाट उत्खनन गर्दा नहर संरचनाहरूमा असर पुगिरहेको छ ।

सुझावित समाचार