नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोलि) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेस हुन सक्ने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
उनले एमसिसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए। नेता कोइरालाले एमसिसीको रूपरेखा नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएकोसमेत बताए।
‘रामशरण महतज्यूले एमसिसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो। नाैवटा देशमा त्यस्तै कार्यक्रमहरू चलिरहेका छन्। त्यहाँ कुनै अमेरिकाको सेनाहरू पनि आएका छैनन्। यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ। भोलिको बैठकमा पेस हुन सक्ने सम्भावना छ। बैठकको निष्कर्ष निस्किसकेको छैन। तर, एमसिसी पास गर्नुपर्छ भन्ने कुरा हो। बैठकमा रामशरण महतजीले नेपालका लागि एमसिसी राम्रो हो । यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्ने कुरा राख्नुभएको छ,’ नेता कोइरालाले बताए।