खोप खोज्न गठित समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध प्रयोग गरिने खोप अनुगमनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले सो प्रतिवेदन सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडासमक्ष बुझाएको हो । प्रतिवेदन पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोप हराएको प्रतिक्रिया दिएपछि मन्त्रालयले खोप खोज्न समिति बनाएको थियो । तर, समितिले सचिवले दाबी गरेजस्तो खोप नहराएको प्रतिवेदनमा उल्लेख गरेको छ । ‘बाहिर नबोल्नु भनिएको छ’ समितिका एक सदस्यले भने, ‘जे होस् बाहिर आएको जस्तो २४ लाख खोप हराएको देखिएन । त्यसैले हामीले खोप नहराएको भन्दै प्रतिवेदन बुझाएका छौँ ।’
धेरै स्थानबाट खोप लगाएकाहरूको विवरण अद्यावधिक गर्न बाँकी रहेकाले तथ्यांकमा फरक परेको उनको भनाइ छ । समितिले सबै हिसाब मिलेको देखेको उनले बताए । समितिले खोपको विवरण अपडेट गर्न छुटेका सबै तथ्यांकलाई सकेसम्म अद्यावधिक गरेको छ । समितिले खोपको तथ्यांकहरू अद्यावधिक गर्न बाँकी भएका स्थानहरूबाट तथ्यांक मागेर रिर्पोट बुझाएको छन् । अधिकारीहरूका अनुसार महामारीका कारणले धेरै स्थानबाट विवरण अपडेट भएको थिएन । बाँकी कुराहरू प्रतिवेदन सार्वजनिक नभई भन्न नमिल्ने उनले बताए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये तीन करोड ५५ लाख ३१ हजार आठ सय ३३ मात्रा खोप प्रयोग भइसकेको छ । यसमा पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ८२ लाख ६१ हजार एक सय ६५ र दोस्रो मात्रा एक करोड ६५ लाख २५ हजार १५५ ले लगाएका छन् । यस्तै अतिरिक्त भनेर सात लाख ४५ हजार पाँच सय १३ मात्रा प्रयोग भएको छ ।
खोप खरिदमा १६ अर्बभन्दा बढी खर्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप खरिदमा १६ अर्ब ३७ करोड ९० लाख ५८ हजार ८० रुपैयाँ खर्च भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विश्व बैंक र एडिबीबाट १० अर्ब २९ करोड ४६ हजार ८० रुपैयाँको खोप खरिद भएको छ । नेपाल सरकारले भने ६ अर्ब आठ करोड ९० लाख १२ हजार रुपैयाँको खोप र सिरिन्ज खरिद गरेको छ । सरकारले चीनबाट भेरोसेल र भारतबाट २० लाख कोभिसिल्ड मात्रै खरिद गरेको छ ।
मन्त्रालयका अनुसार एडिबीले चार अर्ब ९८ करोड ३० लाख १४ हजार एक सय ६० रुपैयाँको खोप खरिद गरेको छ । यस्तै त्यसमा आवश्यक पर्ने सिरिन्ज सात करोड ३९ लाख ८५ हजार पाँच सय २० रुपैयाँको खरिद गरेको छ । विश्व बैंकले एक अर्ब २० करोड दुई लाख ४० हजार रुपैयाँको खोप र ४ अर्ब ३२ करोड आठ लाख ६ हजार चार सय रुपैयाँको सिरिन्ज खरिद गरेको छ ।