पेस्की लिन्छन् काम गर्दैनन् ठेकेदार

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टी सडकखण्डअन्तर्गतको बाउली खोलाको ठेक्का सदर भएर पनि अझै निर्माण कार्य सुरु हुन सकेको छैन। बाउली खोलाको २५ मिटर लम्बाइ पुल निर्माण गर्न टी.डी.आर. जुगल कौशिक जेभीको नाममा गत असोजमा ठेक्का स्वीकृत भएको थियो। ठेकदारलाई पेस्कीस्वरूप पाँच प्रतिशत अर्थात् २५ लाख रुपैयाँ गत कात्तिकमै भुक्तानी गरिसकेको सडक डिभिजन कार्यालय अछामका प्रमुख राजकुमार यादवले जानकारी दिए। ठेकेदार कम्पनीले पुलको निर्माण कार्य भने हालसम्म सुरु गरेको छैन।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५७ सालदेखि सुरुवात भएको मार्तडी–कोल्टी ४२ किलोमिटर सडकखण्डमा पुल नबन्दा वर्षमा तीन महिना मात्र यातायात सञ्चालन हुने गरेको छ। हालसम्म मार्तडीदेखि ढम्कने करिब १० किलोमिटर सडक पक्की गर्ने कार्य भइरहेको छ। तर पुल बनाउने कुनै सुरसार नहुँदा स्थानीयवासी निकै चिन्तित बनेका छन्।

‘मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बाउली, अनाई, चुथीखोला, नाउलेगाड, सिँगारे खोला र दानसाँघुलगायतका पाँच ठाउँमा पक्की पुल निर्माण नभएसम्म बाजुरेली जनताको बाह्रैमास यातायात सुविधा पाउने सपना पूरा नहुने बडीमालीका नगरपालिका– ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। ठेकदारलाई बारम्बार टेलिफोन गरेर मौखिक ताकेता गरे पनि कुनै वास्ता नगरेको पाध्यायले बताए।

यता, सडक डिभिजन कार्यालय प्रमुख राजकुमार यादवले भने केही दिनअगाडि पत्राचार गरिएको बताए। ठेक्का सदर भएका पुलको पेस्की लिने तर काम नगर्ने ठेकेदारबाट अब पेस्की रकम फिर्ता गरिने यादवले  बताए। ‘बाउली खोला पक्की पुल निर्माणका लागि चार करोड ९१ लाख रुपैयाँबराबरको ठेक्का सदर भएको छ।

२०५१ सालमा शिलान्यास गरिएको साँफे–मार्तडी सडक पनि नियमित छैन। उक्त सडकखण्डअन्तर्गत बल्दे द्वारीकाँधमा वर्षेनी पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

See More On

सुझावित समाचार