राष्ट्रिय प्रजातान्त्र पार्टी परित्याग गरेका कमल थापाले नेपालको राजसंस्थाले पटकपटक संवैधानिक सीमा मिचेर आफनो विश्वास गुमाएको टिप्पणी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। यद्यपि, राजसंस्थाप्रतिको आफ्नो दृष्टिकोणमा भने कुनै परिर्वतन नभएको उनले प्रस्ट पारे।
थापाले हिन्दुराज्य, सुशासन र समृद्धिलाई मुख्य राजनैतिक एजेण्डा बनाएर फागुन पहिलो हप्ताभित्र नयाँ पार्टी दर्ता गरिसक्ने गरी आफूहरुले तयारी गरिरहेको जानकारी गराए। उनले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी दर्ता गरेर अन्य दलहरुसँग एकता गरेर निर्वानचनमा सहभागी हुने योजना सुनाए।
आफूले अघि सारेका सामान्य मागहरु सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन तयार नभएपछि पार्टी परित्याग गर्ने अप्रिय निर्णय लिन बाध्य भएको थापाले प्रष्टीकरण दिए। राप्रपा छाडे पनि सँधैभरी निष्कृय बस्ने हक आफूसँग नरहेको भन्दै उनले नयाँ पार्टी गठनको तयारी गरेको बताए।