स्थानीय तह निर्वाचनमा कति सम्भव छ विद्युतीय मतदान? यस्तो छ राम लक्ष्मणको प्रविधि (भिडियो)

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

दश वर्षअघिको एउटा समाचार, हेडिङ थियो ‘भोटिङ मेसिनमा बटन पुगेन !’ मतपत्रमा स्वस्तिक चिह्नको छाप लगाउँदै आएका नेपाली मतदातका लागि यो विषय नयाँ थियो। र, प्रयोग गर्न खोजिएको प्रविधि पनि नेपालका लागि नयाँ थियो। प्रसंग थियो निर्वाचनको लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे। भारत सरकारले दिएका डिजिटल भोटिङ मेसिन नेपालमा ल्याइएको थियो त्यति वेला। भारतले १२ सय थान विद्युतीय मेसिन नेपाललाई उपलब्ध गराएको थियो।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र १ मा उक्त प्रविधिमा निर्वाचन भयो। त्यसपछि ६ वटा उपनिर्वाचन पनि विद्युतीय मतदानबाटै सम्पन्न गरिएको थियो। दोस्रो संविधानसभा निर्वाचनमा पनि नमुनाको रूपमा यसको प्रयोग भएको थियो।

भारतले दिएका मेसिनमा ६४ भन्दा बढी दललाई समावेश गर्न नसकिने अवस्था थियो। नेपालमा त्यति वेला १२५ भन्दा बढी दलहरू थिए। जसकारण नेपालमा भारतबाट ल्याइएको डिजिटल भोटिङ मेसिन पूर्ण रूपमा प्रयोग हुने अवस्था रहेन र पुरानै तरिकाबाट निर्वाचन सम्पन्न भयो। 

तर, यी समाचार हेडिङ पढिरहेका दुई युवा वैज्ञानिकलाई भने यसले ऊर्जा दियो, खोज गर्ने उत्साह पनि।  डिजिटल भोटिङमा जाने नेपालको चाहना पूरा नभएको त्यही समाचारले भने नयाँ खोज र अन्वेषणमा रमाउने नुवाकोट बेलकोटगढीका जुम्ल्याहा दाजुभाइ राम रिमाल र लक्ष्मण रिमाललाई भने नराम्ररी छोयो। ‘अन्यत्र बनाउने मेसिन कहाँ अरूको परिवेश हेरेर तयार पार्छन् र?’ राम लक्ष्मणलाई यस्तै लाग्यो अनि सुरु गरे नेपाल सुहाउँदो इलेक्ट्रोनिक भोटिङ मेसिन बनाउन। ‘त्यसले हामीलाई के लाग्यो भने अर्काले हाम्रो लागि हेरेर मेसिन पक्कै बनाउँदैन। हाम्रो परिस्थिति पो हामीले बुझ्छौँ। अब हामीले नै बनाउनुपर्छ भनेर यसको सम्भावनालाई साकार बनाउन लाग्यौँ,’ राम एक दशकपछि फर्कन्छन्, ‘त्यति वेला समाचार छापिएको थियो– भोटिङ मेसिनमा बटम पुगेन !’ हामीलाई त्यो समाचारले  ध्यानाकर्षण गर्‍यो। र, हामीले यस्तै समस्याहरूलाई आफूले जानेको कामबाट समाधान दिन सकिन्छ कि भनेर हामी भोटिङ मेसिन बनाउन लाग्यौँ। हामीले भोटिङ मेसिन स्टार्ट गर्नुको प्वाइन्टचाहिँ त्यो थियो।’ त्यो असन्तुष्टिले सुरु भएको सम्भावनाको  खोजी साकार भयो र नयाँ प्रविधिको रूपमा आयो–‘रामलक्ष्मण डिजिटल भोटिङ मेसिन। 

जब मेसिन तयार भयो। सुरुवातमा कमैले मात्र प्रयोग गर्थे । सुरुवातमा विश्वास थिएन के हो कसो हो भन्ने अवस्था थियो। विद्युतीय मतदान यन्त्र तयार गरिसकेपछि पहिलोचोटी केपी शर्मा ओली संसदीय दलको नेता बन्ने समयमा प्रयोग गरिएको थियो। त्यसपछि भने धेरै दलसम्बद्ध भातृ संगठन र समितिका चुनावहरू भए। यसक्रममा एकपटक प्रयोगमा ल्याउने संस्थाले त्यसलाई निरन्तर प्रयोग गरिरहेका छन्। यस्ता विद्युतीय मेसिन दृष्टिबिहीन र फरक क्षमता भएकाको हकमा समेत सहज रूपमा प्रयोगमा आइसकेको छ।

पुरानै विधि, नयाँ प्रविधि 
युवा वैज्ञानिक राम र लक्ष्मणले तयार पारेको प्रविधि नेपालको भूगोलअनुसार भर्सटाएल प्रकृतिको छ। यस्ता मेसिन मिल्ने ठाउँमा बिजुली,नभए सोलार र त्यो पनि नभए व्याट्रीबाट चलाउन सकिन्छ। जहाँ जेको उपलब्धता हुन्छ, त्यस्तै पावर फोर्स प्रयोग गर्न सकिन्छ। यस्ता मेसिन माइनस पाँचदेखि ४५ डिग्रीसम्म प्रयोगमा ल्याउन सकिन्छ। 

रामलक्ष्मणमा बनाएको भोटिङ मेसिनमा देखिने मतपत्र पनि निर्वाचन आयोगले छाप्ने मतपत्र जस्तै देखिने गरी बनाइएको छ। अर्थात् मेसिनमा कागजकै मतपत्रजस्तै देखिने ग्राफिक्स बनाइएको छ। कागजको मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्थ्यो । यसमा औँलाले टच गरे पुग्छ। ‘भोटिङ मेसिनमा गरिएको मतदानको डेटा बेसमा पनि बस्छ र यसको प्रिन्ट पनि आउँछ। मत गणना गर्दा फरक पर्दैन त्यही फिचरलाई समेटेर हामीले मतदान हुने व्यवस्था समेटेका छौँ,’ राम भन्छन्,‘१८ इन्चको स्क्रिनमा मतपत्र देखिन्छ। एकदमै सामान्य बनाएका छौँ। समस्या आयो भने १ सेकेन्डसम्मको डाटा सुरक्षित रहन्छ। यसमा डाटा व्याकअपको सुविधा रहेको छ।’

उनीहरूले भोट हाल्ने प्रक्रियालाई मात्र डिजिटल बनाएका छन्। मतदानको प्रक्रिया भने पुरानैअनुसार हुन्छ। भोटर कार्ड भेरिफाइड भएपछि मात्र भोटिङ मेसिनको काम आउँछ। निर्वाचन अधिकृतले बटम थिचेर मतपत्र दिन्छन् र मतदाताले मतदान गर्न पाउँछन्। मतदाताले मतदान गरेर सकेपछि बत्ती बल्छ र अर्को मतदाताको पालो आउँछ।  मतदान सकिएपछि भोटिङ मेसिनलाई पुरानै पद्धतिअनुसार सिल गरेर मतगणनाको प्रक्रियामा लैजान सकिन्छ। ‘प्रक्रियामा त केही फरक छैन । मुचुल्का गर्ने, सिल गर्ने  सबै प्रक्रिया यसमा छ। यो अभ्यास आयोगले पहिला पनि गरिसकेको छ। व्यवस्थापनको हिसाबले यो नयाँचाहिँ छैन,’ रामले मेसिनको विशेषताबारे भने।  

यसैअनुसार उनीहरूले सुरुवातमा फिंगरप्रिन्ट भएको सानो ४ इन्चसम्मको मेसिन बनाएका थिए। त्यसमा पनि मतपत्रमा स्वस्तिक छाप लगाउने गरी बनाइएको थियो। त्यो मेसिन एमालेको संसदीय दलको नेता चुन्न र केही निर्वाचनमा प्रयोग भयो। त्यसपछि ७ इन्च हुँदै १५ इन्च हुँदै १८.५ इन्चको पाँचौँ भर्सन १० वर्षमा आएको छ। उनीहरूलाई देशमै राष्ट्रिय निर्वाचनमा प्रयोग सफल भयो भने बाहिर पनि प्रयोगमा ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ। 
स्थानीय तह निर्वाचनमा प्रयोग सम्भव छ ? 
वैशाख ३० गतेका लागि सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ। स्थानीय तहको निर्वाचनमा धेरै मतदान केन्द्र र उम्मेदवार रहने गर्दछन्। निर्वाचनको संघारमा देशभर मेसिनको प्रयोगबारे छलफल मात्र सुरु भएको छ। मेसिनको माग भइसकेको छैन। रामका अनुसार यस्तो अवस्थामा आवश्यक भएमा २ महिनाभित्र हजारदेखि १५ सय मेसिन उत्पादन गरेर उपलब्ध गराउन सकिन्छ। ‘त्योभन्दा भोलि दीर्घकालीन रूपमा आवश्यक परेको अवस्थामा भने हामी आवश्यक मात्रामा उपलब्ध गराउन सक्छौँ,’ राम भन्छन्। 

उनीहरूले अहिलेसम्म एक मतदाताले ८४ जनासम्म छनाेट गर्नुपर्ने मतदान सम्पन्न गराएका छन्। अहिलेसम्म सय मेसिन तयारी अवस्थामा रहेको र त्यसमा ८ करोडसम्म लगानी भएको उनीहरू बताउँछन्। आयोगले मेसिन मागेको अवस्थामा संख्या र विशेषताका आधारमा मूल्य निर्धारण गर्न सकिने भएकाले लागतका विषयमा अहिले नै भन्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। यसका लागि आवश्यक कम्पोनेन्टहरू जापान, ताइबान र चीनबाट ल्याउनुपर्ने उनले बताए। ‘नेपालमा ल्याएर यसलाई एसेम्बल गछौँ। सफ्टवेयर भने हमी आफैँले बनाउँछौँ। त्यो त आयोगले कति संख्यामा मगाउँछ? कुन विशेषता भन्छ त्यसमा भर पर्छ,’रामले भने।

एकपटकमा ९९९ उम्मेदवारसम्म राख्न सकिने गरी अहिले उनीहरूले मेसिन तयार पारेका छन्। विभिन्न पदमा गरेर ९९ हजार ९ सय ९९ जनासम्म लोड गर्न सकिन्छ। अहिलेसम्म ६ सय उम्मेदवारसम्मको निर्वाचन भएको छ। १० हजार भोटरसम्म भएको निर्वाचन सम्पन्न गरेको अनुभव उनीहरूसँग छ। 

पहिले हिच्किचाहट, अहिले आवश्यकता
स्थानीय तह निर्वाचनको मिति तोकिएसँगै फेरि डिजिटल भोटिङको चर्चा सुरु भएको छ। निर्वाचन आयोगले पनि रामलक्ष्मणले तयार पारेको डिजिटल भोटिङलाई प्रयोगमा ल्याउनका लागि कार्यदल बनाएर अध्ययन थालेको छ। यसले नेपालमै पहिलो दाबी गरिएको भोटिङ मेसिन बनाउने दाजुभाइलाई उत्साहित बनाएको छ। नयाँ प्रविधिलाई समाजले त्यति सजिलै स्वीकार गर्न पनि कहाँ सक्थ्यो र? स्वाभाविक हो। सुरुमा हिच्किचाउँछन् र बिस्तारै त्यसलाई आवश्यकताको रूपमा स्वीकार गरिन्छ। रामलक्ष्मणको अनुभवले पनि यही भन्छ। तर,पछिल्लो समय नेपालमा पनि यसको आवश्यकतालाई स्विकारिँदै छ। 

रामलक्ष्मणले तयार पारेको भोटिङ मेसिनले अहिलेसम्म ९७ वटा चुनाव सफल पारिसकेको छ। ‘हामी प्राइभेट पार्टीले तयार पारेको भोटिङ मेसिनले अहिलेसम्म ९७ वटा चुनाव गराएर सफलता दिलाएका छौँ। दलका भातृ संगठन, सामाजिक संघसंस्थाको निर्वाचन हामीले सम्पन्न गरिसकेका छौँ,’ राम भन्छन्। 

‘कम समयमा कसरी भोट हाल्ने? भोट बदर कसरी कम गराउने? हामी प्रविधिमा काम गर्ने मान्छे, हामीलाई मात्र त्यस्तो लागेको होइन । आममान्छेले पनि त्यसलाई महसुु गरेको पाएका छौँ,’ उनीहरू उत्साहित भएर भन्छन्, ‘जे भए पनि आयोगले छलफलको वातावरण बनाएको छ। यसअघि जति पनि निर्वाचन हुन्छ त्यति वेला हामी आयोगको ढोकामा पुगेकै छौँ। के हुन्थ्यो भने अन्तिम अवस्थामा गर्छौं गर्छौं भन्ने अनि अन्तिममा भ्याइएन भन्ने मात्रै भयो।’

राम यसलाई पुष्टि गर्न भर्खरै सम्पन्न दुई पार्टीको महाधिवेशनको चुनावलाई तुलना गरेर हेर्न सकिने बताउँछन्। ‘अस्ति मात्रै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव हाम्रो भोटिङ मेसिनबाट भयो त्यति वेला २, ३ घण्टामै नतिजा निस्कियो। चुनाव सकियो। त्यसपछि भएको नेपाली कांग्रेसको चुनाव विद्युतीय मतदानबाट हुन सकेन,’ उनी भन्छन्, ‘हामीले अनुरोध चाहिँ गरेका थियौँ। तर, कागजी प्रक्रियाबाटै निर्वाचन भयो । उहाँहरूले धेरै आलोचना पनि खेप्नुभयो। विद्युतीय भएको भए चाँडै हुन्थ्यो। ढ्वाङबाट गरेर समय लाग्यो भन्ने आरोपहरू लागे।’

‘बुथ क्याप्चर’ गरेजस्तो सजिलो कहाँ छ र ? प्रविधिलाई छल्न !
विद्युतीय भोटिङ भनेपछि अधिकांशले आफूअनुकूल प्रयोग गरेर नतिजा ल्याउन सकिन्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ। ‘बुथ क्याप्चर’ गरेजस्तो भोटअनुकूल ल्याउन मेसिनलाई  आफूअनुकूल मत ल्याउन सकिन्छ भने शंकाको दृष्टिले पनि हेरिन्छ। हामीले यो जिज्ञासा उनीहरूलाई राख्यौँ। ‘हामीले  बनाएको भोटिङ मेसिन नेटवर्कमा जोडिँदैन। नेटवर्कमा नजोडिने भएकाले ओर्जिनल सफ्टवेयर हामीले बनाउँछौँ, त्यो पनि हामीले ह्यान्डओभर गरेका हुन्छौँ,’ रामले निर्धक्क भने।

उनले अझ विश्वस्त पार्दै त्योभन्दा पछाडि कसैले खेल्न खोज्यो वा डाटामा नै खेल्न खोज्यो भने यसमा राखिएको ह्यासिङ सिस्टमले तत्काल रोक्ने बताए। यसका साथै मेसिनमा मतदान गर्नेबित्तिकै मतपत्र प्रिन्ट भइहाल्ने र मेसिनमा विश्वास नलागे फिजिकल कपी पनि काउन्ट गर्न सकिने सिस्टमसमेत रहेको छ। 

यसका साथै उनी विद्युतीय मतदानबाट मत बदर शून्य हुने बताँउछन्। ‘मत बदर हुँदै हुँदैन। जतिपटक काउन्ट गरे पनि एउटै रिजल्ट दिन्छ। जसले जितेको हो उसैले जित्छ, नतिजामा फरक पर्दैन,’ रामले भने, ‘हामीले हातले गन्दा गल्ती हुन सक्छ। त्यस्ता धेरै उदाहरण छन्। एकचोटी एउटाले जित्छ अर्कोपटक अर्कैले जित्छ। अदालतले रिकाउन्ट गर भन्यो भने अर्कैले जित्ने अवस्था छ। तर मेसिनमा त्यस्तो हुँदैन।’ 

मतदानजस्तो शतप्रतिशत एक्युरेसी हुनुपर्ने विषयमा विद्युतीय मतदान नै प्रयोग हुनुपर्छ भन्ने उनीहरूलाई लाग्छ। यसको पुष्टि बढ्दै गरेको डिजिटल भोटिङको लोकप्रियता र उनीहरूसँग रहेको भोट रेकर्डको प्रमाणले पनि गर्छ। ‘हामीसँग ३२ लाख भोट रेकर्ड छ। यसबाट पनि प्रविधिमैत्री भएदेखि चाहिँ राम्रो हुन्छ भन्ने हाम्रो विश्वास छ,’ लक्ष्मणले उत्साहित हुँदै भने, ‘यही निर्वाचनबाट यहाँहरूले पनि डिजिटल भोटिङ मेसिनमा मतदान गरेको तस्बिर खिच्न र समाचार लेख्न पाउने अवस्था आओस् भन्ने लाग्छ।’

सुझावित समाचार