राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारी थालेका छन्। राप्रपा समूहहरूबीच पछिल्लोपटक एकता भएर आयोजना भएको एकता महाधिवेशन तीन महिना पनि नबित्दै थापाले नयाँ दलको तयारी थालेका हुन्। पूर्ववत् प्रतिबद्धताअनुसार पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने उनको तयारी छ भने आफू निकटस्थहरूलाई थापाले अन्तरआत्माबाट निर्णय गरेर आफूलाई साथ दिन अनुरोध गरेका छन्। स्रोतका अनुसार निर्वाचन घोषणा भइसकेको अवस्थामा कानुनी अड्चन नभए ७ फागुनमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा थापा छन्।
मंसिर दोस्रो साता राप्रपा महाधिवशेनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रबाट पार्टीमा हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका थिए। अध्यक्ष राजेन्द्र लिङ्देनसँग शनिबार भएको भेटवार्तापछि राप्रपामा आफ्नो स्थान नरहेको निष्कर्षसहित थापाले नयाँ दलको तयारी थालेका छन्।
पूर्वराजा ज्ञानेन्द्र र उनका सहयोगीहरूले महाधिवेशनमा हस्तक्षेप गरेर आफूलाई अध्यक्ष पदमा हराएको आरोप लगाउँदै यसबारे पार्टीले छानबिन गर्नुपर्ने थापाको धारणा छ। थापाले त्यसका लागि २७ मंसिर र १६ माघमा अध्यक्ष लिङ्देनलाई चिठी लेखिसकेका छन्। तर, अध्यक्ष लिङ्देन राजसंस्थाको नकारात्मक छवि निर्माण गर्न पार्टीमा कुनै पनि छलफल हुन नसक्ने स्पष्ट पार्दै आएका छन्। शनिबारको भेटमा पनि लिङ्देनले त्यस विषयमा नअल्मलिएर पार्टीको बृहत्तर हितमा सहभागी हुन थापालाई आग्रह गरेको उनीनिकट नेताहरूको भनाइ छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले निर्मलनिवासका बारेमा पार्टीमा छलफल नहुने बताए। ‘निर्मलनिवासको नकारात्मक छवि निर्माण गर्ने गरी पार्टीमा छलफल हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ। यसमा अध्यक्षज्यू अडिग हुनुहुन्छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अरू विषयहरूमा छलफल गर्न पार्टी तयार छ। तर, राजसंस्थामाथि छानबिन गर्ने भन्ने कुरा पार्टीले कल्पना पनि गर्न सक्दैन।’
तर, थापाले निर्मलनिवासको हस्तक्षेपका विषयमा छानबिन नभएसम्म पार्टीमा सक्रिय नहुने मात्र नभएर पार्टी छाड्नेसमेतको चेतावनी दिँदै आएका छन्।
थापाले राप्रपाका पूर्वअध्यक्षद्वय लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणासँग भेटेर नयाँ दल गठनबारे छलफल गरिसकेका छन्। उनीनिकट नेताहरूका अनुसार थापाले आइतबार राणासँग र सोमबार चन्दसँग उनीहरूकै निवासमा छलफल गरेका छन्। थापाले सोमबार राप्रपाका पदाधिकारी तथा पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरूसँग बेग्लै भेला डाकेर आफ्नो तयारीबारे जानकारी दिएका छन्। उनले बोलाएको भेलामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, रोशन कार्की, महामन्त्री ध्रुवबहादुर प्रधान, कुन्ति शाही, नेताहरू जयन्त चन्दलगायत सहभागी थिए। थापाले निकटस्थहरूलाई बताएअनुसार नयाँ दलले पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोक्नेछ तर सँगसँगै पूर्वराजा ज्ञानेन्द्रको भण्डाफोरसमेत हुनेछ।
‘हामी ज्ञानेन्द्र शाहलाई राजा मान्दैनौँ तर विवादभन्दा माथि आलंकारिक राजसंस्थाका पक्षमा दृढ छौँ, गणतन्त्रवादी लाइनमा हामी जान सक्दैनौँ,’ थापाले आफूहरूलाई भनेको उद्धृत गर्दै राप्रपाका एक पूर्वपदाधिकारीले नयाँ पत्रिकासँग भने। ‘अब राप्रपाबाट अघि बढ्न सकिँदैन भन्ने स्पष्ट सन्देश उहाँले दिनुभयो। हामीलाई तयार रहनका लागि व्यक्तिगत रूपमा सम्पर्क गरेर आग्रह पनि गरिसक्नुभएको छ,’ थापानिकट एकजना पूर्वपदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामी त्यसका लागि तयार छौँ।’ थापाले पार्टी नेतृत्वका लागि पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई आग्रह गरेको ती नेताको दाबी छ। ‘यदि राणा तयार भएनन् भने पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकाे अध्यक्षतामा पार्टी गठन गर्ने उहाँको प्रस्ताव छ। तामाङ पनि तयार भएनन् भने मात्रै आफू अध्यक्ष बस्नुहुन्छ,’ थापानिकट पूर्वपदाधिकारीले नयाँ पत्रिकासँग भने।
थापानिकट नेता राजाराम बर्तौलाले भने नयाँ पार्टी स्थापनाभन्दा पनि पूर्वअध्यक्ष थापाले आफ्ना माग सम्बोधनसहित पार्टी सञ्चालनको रोडम्यापमाथि छलफल गर्न चाहेको बताए। ‘निर्मलनिवासको हस्तक्षेपका विषयमा पार्टीले छानबिन गर्नुपर्छ र पार्टी सञ्चालनको आगामी मार्गचित्र के हो, त्यो स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ बर्तौलाले भने, ‘पार्टीमा मनोनीत भएका पदाधिकारीहरू र अध्यक्षज्यूको क्रियाकलापबाट पार्टी सही दिशामा गइरहेको छ भन्नेमा हामी विश्वस्त हुन सकेका छैनौँ।’
सोमबार बोलाइएको भेलामा सहभागी नेताहरूका अनुसार थापाले पार्टी महाधिवेशनमा निर्मलनिवास (पूर्वराजा ज्ञानेन्द्र)को हस्तक्षेप छानबिन गर्न अध्यक्ष लिङ्देन तयार भए राप्रपामै सक्रिय हुने र लिङ्देनको नेतृत्व स्वीकार गर्ने बताएका थिए। तर, छानबिनका लागि दुईवटा चिठी पठाउँदा पनि अध्यक्ष लिङ्देनले बेवास्ता गरेको र शनिबारको भेटमा पनि त्यसबारे लिङ्देनले छलफल नै गर्न नचाहेको थापाको भनाइ थियो। ‘निर्मलनिवासको विषयमा छलफल गर्न उनी तयार भएनन्। त्यसलाई टार्ने र अरू विषयमा कुरा गर्न खोज्ने उनको मनसाय मैले पाएँ,’ थापाको भनाइ थियो। विगतमा भन्दा बढी सम्मान दिने आश्वासन दिएर लिङ्देनले भावनात्मक कुरा गरेको तर राजनीतिक एजेन्डामा गम्भीर नभएको थापाको आरोप थियो। भेलामा थापाले मात्रै बोलेका थिए। भेलालाई सम्बोधन गरेर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दनिवास पुगेका थापा त्यहीँबाट गृहजिल्ला हेटौँडा गएका छन्। उनी काठमाडौं फर्केपछि नयाँ दलका विषयमा थप छलफल हुने उनीनिकट नेताहरूको भनाइ छ।