गृह प्रशासनलाई सुधार गर्न आवश्यक छ : गृहमन्त्री खाण

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।  

‘शान्ति स्थापना गर्न गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरू जनताको चाहनाअनुसार, आवश्यकताअनुसार नै व्यवस्थापन गरिएको छ,’ मन्त्री खाणले भने, ‘ती जनताका मौलिक अधिकारहरू स्थापित गर्न पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठूलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरूको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । उनले अध्यागमनका गेटहरूलाई आधुनिकीकरण गर्नुपर्ने पनि बताए । बदलिँदो परिवेशअनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशीलता ल्याउनुपर्नेमा उनको जोड थियो । 

सुझावित समाचार