प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनपछि एमसिसीको विषय अगाडि बढाउने प्रस्ताव गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।
प्रचण्डले एमालेले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने र एमसिसीको विषयलाई प्रतिपक्षसहितले चुनावपछाडि मात्र अगाडि बढाऔँ भन्ने प्रस्ताव गरेको पोखरेलले बताए। बैठकमा एमालेले सत्तापक्षले एमसिसीबारे आफ्ना धारणा राख्न अनुरोध गरेको थियो। संसदमा छलफलको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्ने र यसमा सभामुखको भूमिकाबारे एमालेले राखेका माग पूरा गर्न ओलीले बैठकमा माग गरेका थिए। सभामुख त्यसमा तयार नभए मार्ग प्रशस्त गर्नुपर्ने ओलीले बताएका थिए।
एमालेले राखेका विषय पूरा गरेर संसदमा उपस्थित हुने वातावरण बनाए राष्ट्रिय राजनीतिका मुद्दामा छलफल गर्न तयार रहेको ओलीले बताएका थिए। ‘सत्तापक्षले पनि अनिर्णीत भएर बस्न हुँदैन। जनताका बीचमा एउटा कुरा र अन्तर्राष्ट्रिय समुदायमा अर्को कुरा गर्न हुँदैन,’ बैठकपछि पोखरेलले भने।