गठबन्धन चाहिन्न भन्नेहरूले संविधान पढ, परिस्थिति बुझ : रामचन्द्र पौडेल (भडियोसहित)

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बनाउँदा कांग्रेसलाई फाइदैफाइदा रहेको टिप्पणी गरेका छन् । पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैउनले यस्तो टिप्पणी गरेका हुन् । गठबन्धन बनाएकै कारण कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरूमा समेत नेतृत्व गर्न पाएको तथ्य नबिर्सन उनले आग्रह गरे । 

राष्ट्रिय सभा निर्वाचनमा समेत आफ्नो पार्टीका तीन सिट खाली भएकामा ६ सिट जित्न गठबन्धनकै कारण सफल भएको उनले पार्टी नेतृत्वलाई स्मरण गराए । ‘हाम्रा साथीहरू गठबन्धन गर्न हुन्न भन्छन् । म सोध्न चाहन्छु– गठबन्धन नभएको भए के केन्द्रमा हाम्रो नेतृत्वमा सरकार बन्थ्यो ? प्रदेशहरूमा बन्थे ? राष्ट्रिय सभामा हाम्रो तीन सिट खाली भएको थियो । के गठबन्धन नभएको भए त्यसको रक्षा गर्न र अझ तीन सिट थपेर ६ सिट बनाउन सक्थ्यौँ ?’ उनले प्रश्न गरे । 

पौडेलले गठबन्धनको आवश्यकता आगामी निर्वाचन र त्यसपछि पनि रहेको धारणा राखे । उनले गठबन्धन देशको वर्तमान संविधान र संसदीय अभ्यासको आवश्यकताको रूपमा अर्थ्याएका छन् । गटबन्धन आवश्यक छैन भन्नेहरूलाई पौडेलले संविधान पढ्न र संसदमा प्राप्त हुने परिणामको आकलन गर्नसमेत आग्रह गरेका छन् । 

पौडेलले कांग्रेससँग जम्माजम्मी ३० प्रतिशत जनमत रहेको तथ्यलाई नभुल्न नेता–कार्यकर्तालाई आग्रह गरे । उनले प्रश्न गरे, ‘कांग्रेसले गठबन्धन गर्दैनौँ, सहकार्य गर्दैर्नौँ भन्दा  बाँकी ७० प्रतिशत मिले भने के हुन्छ ?’  आफू अहिले जवाफ दिने ठाउँमा नभई कांग्रेसमा प्रश्न सोध्ने स्थानमा रहेको बताएका उनले यसको जवाफ कांग्रेसका सभापति र निर्वाचित नेताहरूले दिनुपर्ने बताए । ‘मैले सुनिरहेको छु– केही साथीहरू गठबन्धन गर्नुहुन्न भनिरहेका छन् । एक्लै हिँड्नुपर्छ भनिरहेका छन् । भोलि उनीहरू सबै मिले भने कांग्रेसको अवस्था के हुन्छ ?’ उनले भने । 

माधव र प्रचण्डले सम्झाएपछि संयन्त्रको नेतृत्व गरेँ
पौडेलले सुरुमा आफूले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको नेतृत्व गर्न नमानेको, तर माधव नेपाल र प्रचण्डले सम्झाएपछि भने स्वीकार गरेको बताए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका वेला संसद् भंग गराएको र त्यसवेला पार्टी सभापतिले खुट्टा नटेकेको वेला आफूले अडान लिएको कुरा माधव र प्रचण्डले स्मरण गराएको उनले बताए । 

‘मैले संयन्त्रको नेतृत्व गर्दिनँ भनेको थिएँ । माधव र प्रचण्डले केपीले संसद् विघटन गरेको वेला तपाईंले अडान लिँदा संसद् र संविधान जोगाउन सफल भएको होइन ? भन्नुभयो । यसलाई जोगाउन र सम्भावित खतरालाई टार्न संयन्त्रको नेतृत्व गर्नुपर्छ भन्नुभयो । अनि म संयन्त्रको संयोजक बस्न तयार भएको हुँ । नत्र मैले हुन्न भनेको थिएँ,’ उनले भने । 

पौडेलले आफूले माधव नेपाल र प्रचण्डले असुरक्षित रहेको पाएकोसमेत बताए । ‘माधव नेपाल र प्रचण्डले आफूलाई असुरक्षित रहेको महसुस गरेको पाएँ । आफूलाई असुरक्षित महसुस गर्नेलाई साथ दिइएन भने के हुन्छ ? उहाँहरू उतै (एमालेमै) मिल्न जानुभयो भने के हुन्छ ?  त्यही भएर मैले उहाँहरूलाई पनि साथमा लिएर जानुपर्छ भनेको हुँ । हामीले पक्का जित्ने ठाउँमा गठबन्धन गरौँ भनेको होइन । उहाँहरूले पनि नजित्ने हामीले पनि नजित्ने, तर दुवैले मिल्दा जित्ने ठाउँमा किन गठबन्धन गरेर नजाने भनेको हो,’ उनले भने ।

सुझावित समाचार