पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ७३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख गरिएको छ। पिसिआर विधिबाट ६ हजार ६५५ र एन्टिजेन विधिबाट चार हजार ४१८ जनाको स्वाब परीक्षण गर्दा क्रमशः एक हजार ६०२ र ९२४ संक्रमित भेटिएका हुन्।
यस अवधिमा १६ संक्रमितको मृत्यु भएको छ भने आठ हजार ४२५ जना निको भएका छन्। मन्त्रालयका अनुसार आज शुक्रबार एकैदिन पाँच लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज पाँच लाख १३ हजार ५१ जनाले खोप लगाएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ पुगेको मन्त्रालयले जनाएको छ।