नेपाली टोलीका बलिङ कन्सल्टेन्टमा धम्मिका

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका पूर्वफास्टबलर धम्मिका प्रसादले ओमानमा हुने आइसिसी टी–२० विश्वकप छनोट क्रममा नेपाली राष्ट्रिय टोलीको बलिङ कन्सल्टेन्टको जिम्मेवारी सम्हाल्ने भएका छन् । नेपाली क्रिकेटमा श्रीलंकाली पूर्वक्रिकेटर धम्मिका परिचित नाम नै हो । धम्मिकाले गत असोजमा काठमाडौंमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सबाट प्रतिस्पर्धा गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने चार देशबीचको सिरिज र आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि बलिङ कन्सल्टेन्टका रूपमा धम्मिकालाई नेपाल ल्याउन लागेको बताएको छ । क्यानका अनुसार धम्मिका शुक्रबारसम्म नेपाल आइपुग्ने सम्भावना छ । ‘नेपाल कहिले आउने पक्का भइसकेको छैन, तर भिसा मिलाएर शुक्रबारसम्म आउने विश्वास छ,’ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने, ‘हामीसँग बलिङ कन्सल्टेन्टको भूमिकामा उनी रहनेछन्, धम्मिका लेभल थ्रीका प्रशिक्षक हुन् ।’

धम्मिकाले इपिएलमा भैरहवाबाट खेल्दै चार खेलमा चार विकेट लिएका थिए । सन् २००६ मा धम्मिकाले बंगलादेशविरुद्ध श्रीलंकाली टोलीबाट एकदिवसीय खेलमा डेब्यु गरेका थिए । सन् २०१५ मा उनले न्युजिल्यान्डविरुद्ध अन्तिम एकदिवसीय खेल खेले । एकदिवसीय खेलमा धम्मिकाले २५ खेलमा ३२ विकेट लिएका थिए । ३८ वर्षीय धम्मिकाले श्रीलंकाबाट २५ टेस्ट र एकपटक अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । उनले टेस्टमा ७५ विकेट हात पारे । उनले २१ टी–२० खेलमा १९ विकेट लिएका छन् । धम्मिकाले एक सय ३० प्रथम श्रेणी र एक सय १९ लिस्ट ए खेल खेलेका छन् ।

See More On

सुझावित समाचार